
बेलायती उपनिवेशबाट मुक्त भएको ८० वर्षमा भारत बेलायतभन्दा पनि धनी भइसकेको छ । विश्वको चौथो धनी देश बनिसकेको भारत चाँडै तेस्रो स्थानमा पुग्दैछ । लालकिल्लामा उभिएर मोदीले ८०औँ स्वतन्त्रता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दा महत्वाकांक्षी योजनाहरु घोषणा गरेका छन् ।
जसमध्ये भारत सन् २०४७ मा विकसित भारत बनिसक्ने घोषणा गरेका छन् । स्वतन्त्र भएको शताब्दी वर्षसम्म पूर्ण विकसित देश बन्ने भारतको लक्ष्यमा १०० गेगावाट आणविक ऊर्जा क्षमता, १६० सौर्या ऊर्जा क्षमता, एक करोड एआई जनशक्ति, कृषि र खाद्य उत्पादनमा व्यापक वृद्धि देखि सफ्ट पावरका विषयसमेत उल्लेख गरेका छन् ।
भारतले २१औँ शताब्दीको सुरुवातमै राजनीतिक स्थिरतासँगै आर्थिक विकासलाई द्रुत गति दिन सकेको देखिन्छ । सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेपछि भारतले विकासका आक्रामक रणनीतिहरु ल्यायो । जसले भारतलाई दशौं धनी देशबाट चौंथो स्थानमा पु¥याइसकेको छ ।
भारत विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भएकाले उसले जनसंख्या, सनातन पूर्वीय दर्शन, दक्ष जनशक्ति जस्ता सफ्ट पावरका माध्यमले विश्वभर प्रभाव फैलाउँदै लगेको छ । यही शक्तिका कारण भारतले ओलम्पिक आयोजनाको महत्वाकांक्षासहित प्रतिष्पर्धामा उत्रने घोषणा गरेको देखिन्छ ।
ओलम्पिकको तयारीमा भारत
विश्व राजनीतिमा खेलकूद कुनै पनि देशको शक्तिको मापनको एउटा महत्वपूर्ण एकाई समेत बनेको छ । त्यसमध्ये ओलम्पिक प्रमुख हो । ओलम्पिक, विश्वकप फुटबल, विश्वकप क्रिकेट जस्ता खेलकूदको आयोजक बन्नु सजिलो छैन । यसका लागि उक्त देशको पूर्वाधार, राजनीतिक, आर्थिक, सामाजिक अवस्था अनुकूल हुनुपर्छ । त्यतिमात्र नभई विश्व राजनीतिमा उक्त देशको प्रभाव हुनुपर्छ । नत्र आयोजक बन्ने प्रतिष्पर्धामा मत तान्न कठिन हुन्छ ।
ओलम्पिक र विश्वकप फुटबल जस्ता खेल आयोजनामा ठूलो खर्चसँगै नाफा पनि हुन्छ । त्यसले उक्त देशको प्रभाव पनि देखिन्छ । यसकारण पनि भारतले ओलम्पिक आयोजनाको महत्वाकांक्षा राखेको देखिन्छ ।
स्वतन्त्रता दिवसको कार्यक्रममा मोदीले भारत सन् २०३६ को ओलम्पिक आयोजक देश बन्ने प्रतिष्पर्धामा उत्रने घोषणा गरे । भारतको भाग्यको परीक्षा सन् २०२९ मा मात्र हुन्छ, जतिबेला ओलम्पिक आयोजकको प्रतिष्पर्धीमध्येबाट एउटा देश छनोट हुन्छ । यसको अर्थ मोदीले पहिलोपटक भारतलाई ओलम्पिक आयोजकको प्रतिष्पर्धी देशका रुपमा उतार्दैछन् अब । यसबाट पनि भारतको शक्तिको परीक्षण हुन्छ ।
भारत हिन्दू सभ्यताको मुख्य भूमिमध्येको हो । विभिन्न सभ्यताहरुको उद्गमस्थल भारत वर्तमानमा हिन्दू सभ्यताको मुख्य भूमि बनेको हो । त्यहाँ अन्य सभ्यता र संस्कृतिका मानिसहरुको उल्लेख्य बसोबास छ । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारतमा विश्वकै सबैभन्दा बढी हिन्दूको बसोबास छ । एक अर्ब हिन्दू जनसंख्या रहेको भारत हिन्दू बाहुल्य देशमध्ये एकमात्र आणविक शक्ति सम्पन्न देश पनि हो ।
उसको शक्तिमध्ये हिन्दू संस्कृति पनि हो । यही संस्कृति अन्तर्गतको योगको अभ्यास विश्वभर फैलिइसकेको छ । भारतको चलचित्र, संगित, कला जस्ता संस्कृतिका रुपमा विश्वभर प्रभाव बनाउन सफल भइरहेका छन् । मुस्लिम बाहुल्य अरब, अफगानिस्तानका अलावा अफ्रिकामा समेत भारतको चलचित्र र संगित लोकप्रीय छ ।
भारतको जनसंख्या यति धेरै छ कि दिनहुँ २ करोडभन्दा बढी मानिसहरु रेलमा यात्रा गरिरहेका हुन्छन् । साँढे तीन करोड भारतीयहरु विदेशमा बसोबास गर्छन् । भारत विश्वकै सबैभन्दा बढी डायस्पोरा रहेको देश पनि हो । त्यसमध्ये आधाले विदेशी नागरिकता लिइसकेको तथ्यांक छ । डायस्पोरा पनि भारतको शक्ति हो । भारतीय डायस्पोरा अमेरिका, बेलायत, फिजी, मौरिसस जस्ता देशको महत्वपूर्ण पदमा पुगिसकेका छन् । अमेरिकाको चुनावमा भारतीय डायस्पोरा निर्णायक शक्ति समेत बन्न थालिसकेका छन् ।
भारतले विदेश मामलामा पनि आफ्नो बलियो प्रभाव देखाउन सकेको छ । अमेरिका, रुसका अलावा यूरोपेली देशहरुसँग भारतको सुमधुर सम्बन्ध छ । मध्यपूर्वका देशहरुसँग उत्तिकै सुमधुर सम्बन्ध रहेकाले भारतले आर्थिक लाभ लिन सकेको छ । भारतमा अत्याधुनिक हतियारहरु बन्छन् ।
उसले रुस, इजरायल, फ्रान्स जस्ता देशहरुसँग साझेदारीमा अत्याधुनिक हतियार निर्माण गरिरहेको छ । भारत हतियारको बजार मात्र नभई उत्पादक देश समेत बनेको छ । शक्ति वृद्धिसँगै भारतले अनेकन चुनौतीहरु व्यहोरिरहेको छ ।
रणनीतिक चुनौती
कुनैबेला गरिबीको पर्याय बनेको भारत अहिले डलर अर्बपतिहरुको देश बनिसकेको छ । अम्बानी र अडानी जस्ता विश्व चर्चित अर्बपतिहरु भारतमा छन् । भारतसँग आणविक हतियारका अलावा विश्व चर्चित ब्रम्होज जस्ता मिसाइल छन् । उसले चन्द्रमामा यानको सफल अवतरण गरिसकेको छ । जल, स्थल र वायुमण्डलमा भारत अन्य शक्तिको प्रतिष्पर्धी बन्दै गइरहेको छ । अन्तरीक्षमा उसको उपस्थिति बढ्दै गइरहेको छ ।
यो घटनासँगै भारतका सामु चुनौती बढेको देखिन्छ । त्यस्ता चुनौतीहरु दृश्य अदृश्य रुपमा देखापरिरहन्छन् । अमेरिकी टारिफ, तेल खरिदमा दबाब, पाकिस्तानसँगको द्वन्द्वका अलावा भारतलाई सिधै असर पर्ने गरी भएका अन्य क्षेत्रका युद्धहरु पनि चुनौती हुन् । यसको सामना गर्न उसलाई कठिन पर्दै आएको छ ।
युक्रेन युद्ध हुँदा भारतले रुसको सस्तो तेल खरिद गरेर लाभ लिएको थियो । तर, अमेरिकी टारिफ र दबाबले उसलाई अन्यत्र मोडिन वाध्य पारिदियो । इरान युद्धले हर्मुजको जलमार्गमा अवरोध हुँदाको सबैभन्दा ठूलो नोक्सान भारतलाई पनि प¥यो । यूरोप पुग्ने जलमार्गमा स्वीज नहरको मार्ग प्रयोग गर्नुपर्ने अवस्थाले भारतलाई बेला बेलामा चुनौती बढ्ने गरेको छ । यसको विकल्प खोज्नेतर्फ भारत लागिसकेको छ ।
नौसैनिक अभ्यास अवलोकन गर्न रुसको सुदूरपूर्वी सकालिन क्षेत्र पुगेका पुटिनले बिहिबार उत्तरी समुन्द्री मार्ग प्रयोगमा भारतले इच्छा देखाएको बताएका छन् । युक्रेन युद्धका कारण पश्चिमा प्रतिबन्धपछि रुसले एशियामा व्यापार वृद्धि गर्न चासो मात्र देखाएन, कठिन मानिएको आर्टिक जल मार्गमा पूर्वाधार विकासका लागि ठूलो धनराशी खर्च गर्न थालेको छ । स्वीज नहर हुँदै यूरोपबाट एशियामा यात्रा गर्नभन्दा आर्टिक जल मार्गबाट दूरी झण्डै आधा कम पर्छ । तर, यो मार्ग बरफिलो छ । बरफ फुटाउने यन्त्र जडित अत्याधुनिक जहाज निर्माणमा ठूलो धन खर्चिइरहेको छ रुसले ।
त्यस क्षेत्रको पूर्वाधार निर्माणमा लगानी ओइराइरहेको छ । रुसले एशियाको भरिभराउ जनसंख्याको बजार मात्र हेरिरहेको छैन भारत र चीन जस्ता देशसँग सम्पर्क बढाउने रणनीति बनाइरहेको छ । भारतका लागि पनि पश्चिमा देशहरुसँगको निर्भरता घटाउने वाध्यात्मक अवस्था विकास भइरहेको छ ।
रुससँग बढ्दो निकटता
भारतले आर्टिक मार्गबाट रुसको किनारमा जहाज पठाउने भएको छ सन् २०२७ मा । रुससँग व्यापार बढाउन र पश्चिमाको प्रतिबन्ध भएपनि कुनै अवरोध नहुने गरी उक्त मार्गबाट जहाज ओहोरदाहोर गराउन खोजेको देखिन्छ । ५६०० किलोमिटर दूरीको यो मार्ग यूरोप र पूर्वी एशियाबीचको छोटो जलमार्ग हो । परम्परागत स्वीज नहरको मार्गभन्दा आर्टिक मार्गबाट यात्रा झण्डै आधा छोटो हुन्छ र दुई हप्ताभित्र यूरोपका बन्दरगाहमा पुग्न सकिन्छ । मध्यपूर्वको युद्धले स्वीज नहरको मार्ग निकै खतरनाक भइरहेको छ । त्यहाँको निर्भरता कम गर्न पनि भारतले विकल्पहरुमा जान खोजेको देखिन्छ ।
रुसले आर्टिक जल मार्ग सञ्चालनका लागि ठूलो धनराशी लगानी गरिरहेको छ रुसले आर्टिक जल मार्गमा चल्नसक्ने जहाजहरुको निर्माण गरिरहेको छ । चीनले आर्टिक जलमार्गको प्रयोग २०२५ बाट नै सुरु गरिसकेको छ ।
भारत र रुसबीच सन् २०३० भित्र १०० अर्ब डलरको व्यापारको योजना तय भएको छ । भारतले रुसबाट कुल खपतको आधा कच्चा तेल खरिद गर्दछ । तेल र ग्याँसमा खाडी देशहरुको निर्भरता कम गरेर विकल्पमा जाने भारतीय रणनीतिले उसलाई निकै लाभ दिएको छ । युक्रेन युद्धमा त्यो देखिइसक्यो । भारतले रुससँग मिलेर संयुक्त रुपमा हतियार निर्माण गरिरहेको छ जसको माग विश्व बजारमा बढेको छ ।
रुसी हतियार पाकिस्तानसँगको पछिल्लो युद्धमा सफल प्रयोग गरेको थियो भारतले । रुस पश्चिमा देशहरुको प्रतिबन्ध र पेलाइमा परिरहँदा एशियातर्फ उसले ध्यान बढाइरहन बाध्य छ । यसको लाभ भारत र चीनले लिन सक्छन् ।
आर्टिक जल मार्गको प्रयोग भारतले पनि गर्न थालेमा थप लाभ लिनसक्ने देखिन्छ । यूरोपसँग व्यापार गर्दा प्रयोग हुने अरब सागर, रेड सी र मेडिटरियन सी स्विज नहर हुँदै पस्नुपर्ने अवस्था छ । त्यसको विकल्पमा उत्तरी समुन्द्रको मार्ग या आर्टिक जल मार्गको प्रयोगले नयाँ परिस्थितिको विकास हुनसक्छ । रुससँग भारतको बढ्दो निकटताले भारतलाई अवसरसँगै चुनौतीहरु थपिदैछ । तर, भविष्यमा विश्व शक्ति बन्ने महत्वाकांक्षा बोकेका मोदीले यस्ता चुनौतीहरु उठाउने जमर्को गरिरहेको देखिन्छ ।












