काठमाडौं । न्युजिल्यान्डका स्टार अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पुनः जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत नीशमलाई टोलीमा स्वागत गरेको छ । उनले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन् २०२४ को पहिलो एनपीएलमा नीशम जनकपुरका प्रमुख खेलाडीमध्ये एक थिए । प्रतियोगितामा उनले ब्याटिङसँगै बलिङमा पनि प्रभाव पारेका थिए । विशेषगरी दोस्रो क्वालिफायरमा कर्णाली याक्सविरुद्ध उनले १७ बलमा ४५ रनको विस्फोटक इनिङ खेल्दै जनकपुरलाई फाइनलमा पुर्याएका थिए ।
फाइनलमा पनि जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै ऐतिहासिक रूपमा पहिलो एनपीएल उपाधि जितेको थियो ।
एनपीएलको दोस्रो संस्करणमा भने नीशम जनकपुरमा थिएनन् । उनी पोखरा एभेन्जर्सबाट प्रतियोगितामा सहभागी भएका थिए । अब तेस्रो संस्करणमा उनी पुनः जनकपुरको जर्सीमा फर्किने भएपछि बोल्ट्सको विदेशी खेलाडी समूह थप बलियो बनेको छ ।














