काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक सफलता हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा आयोजित ‘रोड टु युएफसी’ सिजन पाँचको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका हुन् ।

यदि ढाँटले फाइनल उपाधिसमेत जितेमा विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (ग्ँऋ) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन् । ‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले हालसम्म बान्टमवेट विधाका ११ खेलमध्ये १० मा जित हात पारेका छन् भने १ खेलमा मात्र पराजय व्यहोरेका छन्। सन् २०२३ मा इस्माइल खानसँग हार व्यहोरेयता उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
यसअघि गत मे महिनामा मकाउमा आयोजित क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै उनी रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली बनेका थिए। त्यस्तै, गत वर्ष भारतको नोएडामा आयोजित ‘म्याट्रिक्स फाइट नाइट–१७’ को तेस्रो राउन्डमा भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई नकआउट गर्दै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।















