काठमाडौं । पुरुष एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । मलेसियाले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपालका अर्जुन कुमालले ६८ बलमा ४ चौकासहित अविजित ४५ रन बनाए । इसान पाण्डेले २९ बलमा २० रन बनाए । मलेसियाका सय्यद अजीज, आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले समान १ विकेट लिए ।
त्यसअघि मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम आभेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ३२ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । मेलेसियाका सायेद अजिजले ४९ बलमा ३०, अकिल वाहिदले ३९ बलमा २४ र वीरान्दीप सिंहले ३६ बलमा १४ रन बनाए। नेपालका करन केसीले ४, ललित राजवंशीले २ र हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए ।
यो जितसँगै नेपाल २ खेलमा २ जितसहित ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । पराजित मलेसिया २ खेलमा २ अङ्गसहित दोस्रो स्थानमा छ । सोमबार आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ३ विकेटले हराएको थियो । अब नेपालले आफ्नो तेस्रो खेलमा भदौ २१ गते आइतबार साउदी अरबसँग खेल्नेछ ।














