
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न पुगेका उनी त्यसै फर्किएका हुन् ।
निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् । उद्घाटन गर्न लागिएको जेनजी पार्कमा गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।
पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले बताएको छ । तर, सालिकहरु शहीदहरुको अनुहारसँग मेल नखाएपछि परिवारले आपत्ति जनाएका छन् ।















