
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोसी बाढीको विषयलाई लिएर जलवायु न्यायको ढोका ढकढकाउने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भोटेकोशीको बाढी प्राकृतिक विपत्ति नभई जलवायु सङ्कटको परिणाम भएकाे र यस विषयमा न्यायका लागि पहल गर्नुपर्ने बताएका हुन् ।
आफूले नगरेको गल्तीमा उनीहरूले ज्यान गुमाएको भन्दै लामिछानेले बाढीमा परेर मृत्यु हुनेहरूलाई ‘जलवायु अन्यायपीडित’को संज्ञा दिए । ‘भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित हुन्,’ उनले भने, ‘हामीले संकल्प गर्नैपर्छ, यो सहादतलाई जलवायु न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढकढकाउनेछौं ।’
विपद्को यो घडीमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकताको उनले उच्च प्रशंसा गरे । लामिछानेले भने, ‘यति ठुलो सङ्कट र अपूरणीय क्षति व्यहोर्दा पनि उहाँहरू एक अर्काको हात समातेर उभिइरहनु भएको छ, यो साहस र एकता नै हाम्रो शक्ति हो।’















