Logo
Logo

अख्तियारमा उजुरी र छानबिनसँगै सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा


945
Shares

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको सरुवा भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थापालाई सिद्धार्थनगरबाट चितवनको माडी नगरपालिकामा सरुवा गरेको हो।

थापाको स्थानमा नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री सिद्धार्थनगर नगरपालिकामा आउने भएका छन्।

थापाको सरुवा यस्तो समयमा भएको छ, जतिबेला महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले सिद्धार्थनगर नगरपालिकाको वित्तीय अनुशासन र आन्तरिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। नगरपालिकाको एकीकृत वित्तीय विवरणमा सामाजिक सुरक्षा तथा स्वास्थ्यलगायत विभिन्न शीर्षकका करोडौँ रुपैयाँ बराबरका कारोबार समावेश नभएको र बैंक मौज्दात तथा लेखा विवरणबीच ठूलो अन्तर देखिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, महालेखाले नगरपालिकाले कानुनअनुसार आन्तरिक लेखापरीक्षण नगराएको विषयसमेत औंल्याएको छ। साथै, ९८ जना स्थायी र ४५ जना करार कर्मचारीलाई ६१ लाख ९३ हजार ६७२ रुपैयाँ प्रोत्साहन भत्ता वितरण गर्दा स्पष्ट आधार, कार्यसम्पादन मूल्याङ्कन तथा आवश्यक प्रमाण अभिलेख नराखिएको भन्दै प्रश्न उठाइएको छ।

सार्वजनिक सम्पत्तिको अभिलेख अद्यावधिक नभएको, खर्चको पर्याप्त प्रमाण नराखिएको, भ्रमण अभिलेख व्यवस्थित नभएको र विभिन्न शीर्षकमा खर्च गर्दा कानुनी प्रक्रिया पालना नभएको जस्ता कैफियतहरू पनि प्रतिवेदनमा समेटिएका छन्।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन सुरु गरेको स्रोतको दाबी छ। थापाविरुद्ध करिब एक महिनाअघि अख्तियारमा उजुरी परेको र अख्तियारको बुटवल कार्यालयले उनीसँग बयानसमेत लिइसकेको समाचार स्रोतले जनाएको छ। उनी जिल्ला प्रशासन कार्यालय, सैनामिना नगरपालिकालगायत रुपन्देहीका विभिन्न कार्यालयहरूमा पछिल्लो करिब एक दशकदेखि कार्यरत थिए। स्रोतका अनुसार उनी बढुवा भएर मात्रै रुपन्देहीबाट अन्यत्र जाने योजनामा थिए।

यस पृष्ठभूमिमा थापाको सरुवासँगै सिद्धार्थनगरमा आउन लागेका नयाँ प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीसामु महालेखाले औंल्याएका वित्तीय तथा प्रशासनिक कमजोरीहरू सुधार गर्दै आन्तरिक सुशासन र वित्तीय अनुशासन कायम गर्ने मुख्य चुनौती खडा भएको छ।

प्रतिक्रिया दिनुहोस्