Logo
Logo

बाढीमा ज्यान गुमाउनेहरूको ‘डीएनए म्याचिङ’ कात्तिकसम्म सक्ने तयारी


252
Shares

काठमाडौं । भोटोकोशी बाढीमा फेला परेका शव र परिवारले दिएको डीएनए नमुना म्याचिङका लागि एक महिना लाग्ने भएको छ ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डीएनएको प्रोफाइलिङ भइरहेको बताएको छ । प्रोफाइलिङ सकिएपछि परिवारबाट संकलित डीएनए नमुनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ।

प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट संकलित नमुनासँग मिलाएर शवको पहिचान गरिनेछ । डीएनए परीक्षणको कामलाई तीव्र बनाउन चीन, भारत र दक्षिण कोरियाबाट विशेषज्ञ टोलीसमेत नेपाल आएका छन् ।

विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमुना परीक्षण र प्रोफाइलिङको काम अघि बढिरहेको नेपाल प्रहरीले जनाएको छ । हालसम्म एक हजार २३० शव जमिनमुनि व्यवस्थापन गरिएका छन् । । ती शवबाट १ हजार २८६ डिएनए नमुना संकलन गरिएको छ । त्यस्तै, बेपत्ता व्यक्तिका परिवारबाट १ हजार ८४६ डिएनए नमुना संकलन गरिएको छ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गर्दा समय बढी लाग्ने भएकाले नमुना परीक्षणको काम अन्य प्रयोगशालामा समेत विस्तार गर्ने तयारी गरिएको छ । काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालासहित धरान र नेपालगञ्जका प्रयोगशालाबाट नमुना म्याचिङ गर्ने तयारी भइरहेको छ ।

प्रहरीको विधि विज्ञान प्रयोगशाला स्रोतका अनुसार डीएनए प्रोफाइलिङ, परीक्षण र मिलानको काम कार्तिकसम्म सक्ने लक्ष्य राखिएको छ । ठूलो संख्यामा नमुना भएकाले परीक्षणको काम चरणबद्ध रूपमा अघि बढाइनेछ ।

गाडिएका शवको पहिचानका लागि परिवारबाट संकलित डीएनए नमुना मुख्य आधार हुनेछ । शवबाट प्राप्त डीएनए प्रोफाइल र परिवारका सदस्यको डीएनए मिलेको अवस्थामा मात्रै सम्बन्धित व्यक्तिको पहिचान यकिन गरिनेछ ।

बेपत्ता व्यक्तिका परिवार मध्ये अधिकांशले आफन्तको अवस्थाबारे जानकारी पाउन सकेका छैनन् । डीएनए परीक्षणबाट पहिचान खुलेपछि शव व्यवस्थापन तथा सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्