काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को फराकिलो जित निकाल्दै लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाले आठौँ मिनेटमै जोआओ कान्सेलोको शानदार लामो दूरीको प्रहारबाट अग्रता लिएको थियो । २५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । रेसिङ सान्टान्डरका माग्वेटे गुएले ३०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि बार्सिलोनाले त्यसपछि लगातार दबाब बढायो। ३६औँ मिनेटमा रेसिङ सान्टान्डरका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३-१ ले अघि बढ्यो । पहिलो हाफको अन्त्यतिर राफिन्हाले अर्को गोल थपेपछि बार्सिलोना ४-१ को अग्रतासहित पहिलो हाफमा गएको थियो ।
दोस्रो हाफमा रेसिङ सान्टान्डरका यासिर जबिरीले ६५औँ मिनेटमा गोल गर्दै अन्तर घटाएर खेल ४-२ को अवस्थामा ल्याएका थिए । तर त्यसको दुई मिनेटपछि नै राफिन्हाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरे । बार्सिलोनाका लागि गाब्रियल जेसुसले ७९औँ मिनेटमा गोल थपे । खेल सकिन एक मिनेट बाँकी रहँदा लामिन यामालले गोल गरेपछि बार्सिलोनाले ७-२ को फराकिलो जित पक्का गरेको थियो ।
यो जितसँगै बार्सिलोनाले लिगका सुरुवाती छवटै खेल जित्दै १८ अङ्क जोडेको छ । टोलीले यी छ खेलमा २८ गोल गरेको छ र शीर्ष स्थानमा रहेको छ ।















