Logo
Logo

आफ्नै सीप बेचेर विदेशसम्म सामान पठाउने अन्जना


अन्जना थापा, उद्यमी

0
Shares

काठमाडौं । नेपालका अधिकांश युवाहरु विदेश जाने सपना देखिरहेका छन् । स्वदेशमै केही गर्ने सपना नदेखेपछि युवाहरु विदेशीने बाध्यतामा तल्लीन छन् । स्वदेशमै केही गरौँ भन्ने योजना युवाहरुले बनाउने गरेपनि तत्कालै काम थालिहाल्न भने डराउने गरेको स्थिति छ । कतिपय युवाहरु आफ्नो सीप, दक्षता र क्षमताको प्रयोग गर्दै साना लगानीमा उद्यम गर्ने तथा स्वरोजगार हुनेहरु पनि छन् । ति मध्येकी एक हुन्, अन्जना थापा ।

उनले ‘एबिटी क्राफ्टिङ’ नामको ‘अनलाइन शप’ खोलेकी छिन् । उनले अनलाइनबाट सामान बेचेर पैसा सँगसँगै नाम पनि कमाइरहेकी छिन् । हस्तकलाका सिर्जनामा आफुलाई अब्बल राख्न उनको प्रयास छ ।पाटन कलेज बाट एमबीएस पुरा गरेकी व्यवसायी २८ बर्षीया अन्जना थापासँग रेजिना पाण्डेको जम्काभेट :

उद्यमको सोच कसरी बनाउनु भयो ?

कोभिड १९ को महामारीका कारण देशभर ‘लकडाउन’ थियो । घरभित्र थुनिएर बस्नु बाध्यता थियो । त्यसबेला मैले इन्स्टाग्राममा एउटा ‘क्राफ्टिङ’ भिडियो देखेँ । सोही भिडियोले मलाई ‘क्राफ्टिङ’ तर्फ आकर्षित गरायो । मैले पनि आवश्यक सामग्रीहरु जुटाएर आफ्नै शैलीमा ‘क्राफ्ट’ तयार गरेँ । उक्त क्राफ्टलाई सामाजिक सञ्जालमा राखेँ । संयोगवश्ः त्यो सामान सबैले मन पराए त्यही उत्साहले काम गर्न मन लाग्यो ।

रुचि त्यसपछि मात्रै हो कि पहिलेदेखि नै थियो ?

म सानैदेखि नै पेन्टिङ गर्ने बुनाईमा एकदमै सौख राख्थे । मलाई यो काममा रुचि थियो । तर पहिले पढाइमा समय दिनुपरेका कारण व्यवसाय गर्न सकेको थिइनँ । अहिले आफुले जानेको काम गर्नुपर्छ भनेर यसतर्फ लागेको हुँ । रुचिलाई व्यवसायमा निरन्तरता दिएको हुँ ।

कसैबाट प्रेरणा पाउनु भएको थियो कि ?

मेरो आमा पनि हस्तकलामा अब्बल हुनुहुन्छ । आमाको साथ र सहयोग बाट नै यो काम सम्भव भएको हो ।

तपाई के–के बनाउनु हुन्छ ?

बच्चाहरुको लुगा, जुत्ता र मोजा बुन्छौँ । ‘पेन्टिङ एम्ब्राइडरी क्रोसेट’ बुनाइ नै अहिले मेरो प्राथमिकता हो । अहिले ‘वेडिङ एम्ब्राइडरी पेन्टिङ’ पनि बनाउने गर्छु ।

एक्लै हुनुहुन्छ कि साथमा अरु पनि हुनुहुन्छ ?

आमा, म र मेरो एक साथी गरी हामी तिन जना मिलेर गर्छौ ।

तपाईको सामान कहाँ–कहाँ पुगेका छन् ?

नेपालका धैरै ठाउँमा पुगेका छन् भने नेपाल बाहिर अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका धेरै देशहरुमा पुगेका छन् । विदेशबाट दोहो¥याइ, तेह¥याइ सामान अर्डर गर्नेहरु पनि हुनुहुन्छ ।

अनलाइन मार्फत् उद्यम, व्यवसाय गर्दा सामान अर्डरको विषयमा धेरै धोका पाइन्छ भनेको सुनिन्छ, यहाँको अनुभव के छ ?
धोका भएको छ । मलाई मात्र होइन अनलाइन व्यपारीहरुलाई यस्तो धोका भइरहन्छ । सामान अर्डर गरेर नलिइदिने, अर्डर पु¥याउन जाँदा मोबाइल बन्द गरेर मान्छे सामान लिन नआउने लगायतका विभिन्न समस्याहरु हुने गर्छ । त्यसैले मैले अचेल पहिले एडभान्स् लिएर मात्रै सामान तयार गर्ने गरेको छु ।

कमाई कस्तो छ ?

राम्रो छ । व्यापार पनि बढ्दै छ । बिस्तारै ब्रान्डलाई अझै माथि पु¥याउने सोच छ ।

बच्चाका लागि सामान्य ‘क्राफ्ट’ डिजाइन तयार गर्न कति समय लाग्छ ?

एक दुई दिन सम्म लाग्छ । एक हप्ता पनि लाग्न सक्छ । कस्तो डिजाइन हो त्यसमा भर पर्छ । सामानको मुल्य डिजाइन अनुसार फरक–फरक पर्दछ ।

तपाई कस्तो खालको एम्ब्राइडरी क्रोसेट र चित्रकला गर्न मन पराउनुहुन्छ ?

जीवन्त राख्ने, मनले छोइहाल्ने खालको बनाउन मन लाग्छ । म सधैँ त्यस्तै बनाउन प्रयास गरिरहेको हुन्छु ।

युवाहरु नेपालमै उद्यम गरेर बस्न सम्भव छ ?

सम्भव भएर नै हामीले गरेको हो । यहाँ प्रोत्साहन गर्नेहरु पनि छन् र खुट्टा तान्नेहरु पनि छन् । होशियार भएर काम गर्न सक्नुपर्छ ।

सामाजिक सञ्जालले घरैबाट काम गर्ने ठुलो अवसर दिएको छ जस्तो लाग्छ ?

हो, सामाजिक सञ्जालको फाइदा धेरै छन् । घरैबाट धैरैको रोजिरोटि चलेको छ । केही गर्न सक्ने आँट छ भने अवसर दिएको छ ।

भविष्यको योजना के बनाउनुभएको छ ?

आफुलाई मन परेको काम गर्न पाएको छु यहि कामलाई नै निरन्तर दिने सोच छ । सफल उद्यमीको परिचय बनाउने चाहाना छ ।

प्रतिक्रिया दिनुहोस्