काठमाडौं । भोटेकोशीको घाउ सेलाउन नपाउँदै बूढीगण्डकीले अर्को चोट दिएको छ । दशैँको रौनक छाउनुपर्ने बेला उत्तरी गोरखाका बस्तीमा बाढीको वितण्डा मच्चिएको छ । कसैको घर बगेको छ, कसैको आँगन । कसैको वर्षौँको कमाइ बगेको छ, कसैको परिवार पाल्ने आधार । दशैँमा घर सजाउने, मीठो खाने र आफन्तसँग खुसी साट्ने तयारीमा रहेका नागरिक अहिले ज्यान जोगाउने र सुरक्षित ठाउँ खोज्ने अवस्थामा पुगेका छन् ।
दशैँको पहिलो दिन, अर्थात् आइतबार बिहानै बूढीगण्डकी नदीमा आएको बाढीले यस्तो विनाश निम्त्यायो, जसको कल्पना स्थानीयले सायदै गरेका थिए । चुमनुब्री गाउँपालिकाको पैयुँ र बगरका करिब ३५ घर बगाएको प्रारम्भिक विवरण छ । जगत्, सल्लेरी, दोभान र घट्टेखोलालगायतका क्षेत्रमा पनि क्षति पुगेको छ । नदीमा पानी मात्रै आएको थिएन, लेदो माटो, ढुङ्गा र गेग्रानको कालो भेल आएको थियो । त्यसले बाटोमा जे भेट्यो, त्यही बगाउँदै लग्यो ।
बाढीले घर मात्रै बगाएन, बस्तीलाई जोड्ने पुलसमेत छाडेन । दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल गरी कम्तीमा ६ वटा पुल बगेका छन् । आरुघाट हुँदै धादिङ जोड्ने पक्की पुलदेखि धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसम्म बाढीको चपेटामा परेका छन् । माछिखोला–केरौँजा, न्याकचेत–सिर्दिबास र घट्टेखोला–फिलिम जोड्ने पुलमा पनि क्षति पुगेको छ । पुल बगेपछि आवतजावत मात्रै रोकिएको छैन, उद्धार, राहत र दैनिक जनजीवनसमेत प्रभावित भएको छ ।
तर प्रश्न उठ्छ– बूढीगण्डकीमा आखिर बाढी कसरी आयो ? प्रारम्भिक विवरणले बूढीगण्डकीको माथिल्लो क्षेत्रमा गएको सुक्खा पहिरोतर्फ संकेत गरेको छ । नेपाली सेनाका अनुसार असोज २५ गते बिहान नदीको बहाव थुनिएको र त्यसपछि थुनिएको भाग खुलेर लेदोसहितको बाढी आएको हुन सक्ने अनुमान छ । बिहान ५ बजेर ५५ मिनेटमा नदी थुनिएको प्रारम्भिक सूचना प्राप्त भएको थियो । त्यसपछि गोरखामा तैनाथ नेपाली सेनाको टोली परिचालन भयो । बिहान सवा ६ बजे रेकी टोली खटिएपछि चुमनुब्री गाउँपालिका–३ को फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पहिचान गरिएको सेनाको जानकारी छ । तर बाढीको वास्तविक उद्गम र घटनाक्रमबारे अन्तिम निष्कर्ष आइसकेको छैन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पनि बाढीको प्रकृति हेर्दा गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीसँग मिल्दोजुल्दो देखिएको बताएका छन् । बाढीको उद्गम पत्ता लगाउन ड्रोनसहितको टोली माथिल्लो क्षेत्रमा परिचालन गरिएको छ । माथिल्लो भेगबाट खिचिएको हवाई तस्बिरमा साँघुरो खोँचमा गेग्रान बगेको र छेउमा पहिरो गएको देखिएको छ ।
स्थानीयका लागि आइतबार बिहानको दृश्य सामान्य बाढीको दृश्य थिएन । जन्मेदेखि यस्तो बाढी नदेखेको बताउनेहरूका लागि आफ्नै आँखाअगाडि घर बग्नु कति पीडादायी होला ? वर्षौँ दुःख गरेर बनाएको घर, परिवारका लागि जोहो गरेको सम्पत्ति र जीवनभरका सम्झना केही मिनेटमै नदीले बगाउँदा मानिससँग बाँकी रहने भनेको पीडा र अनिश्चितता मात्रै हो ।
त्यसमाथि दशैँको मुखैमा आएको विपद् ! वर्षभरि काम गरेर चाडपर्वका लागि पैसा जोहो गरेका परिवारको खुसी एकाएक खोसिएको छ । छोराछोरीका लागि नयाँ लुगा किन्ने बेला घरै नरहेपछि के गर्ने ? आफन्तसँग टीका लगाएर खुसी साट्ने बेला सुरक्षित ठाउँ खोज्नुपरेपछि कसरी मनाउने दशैँ ? घरमा पाक्ने मीठो परिकारको तयारी गर्नुपर्ने बेला परिवारलाई कहाँ राख्ने भन्ने चिन्ता भएपछि चाडपर्वको रौनक कसरी फर्किन्छ ?
सहरका बजारमा दशैँको किनमेल चलिरहेको छ । सडकमा घर फर्किनेको लर्को छ । तर उत्तरी गोरखाका बाढी प्रभावित परिवारका लागि अहिले दशैँभन्दा ठूलो प्रश्न छ– आज राति कहाँ बस्ने ? भोलि खाने के ? घरका सदस्य सबै सुरक्षित छन् कि छैनन् ?
अझ बूढीगण्डकीको बाढीले निर्माणाधीन जलविद्युत् आयोजनाका क्षेत्रमा पनि असर पारेको छ । यसको विस्तृत प्रभाव र क्षतिको यकिन विवरण संकलन हुन बाँकी छ । तर बाढीले देखाएको जोखिमलाई सामान्य घटनाका रूपमा लिएर बेवास्ता गर्न मिल्दैन । किनभने यो विपद् भोटेकोशीको कहरपछि आएको अर्को ठूलो चेतावनी हो । गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल, बस्ती र जलविद्युत् संरचनामा ठूलो क्षति पु¥याएको थियो । त्यस विपद्ले परिवार उजाडिए, मानिस बेपत्ता भए र धेरै नागरिकको जीवन सधैँका लागि बदलियो । कतिपय परिवार अझै आफन्तको प्रतीक्षामा छन् । कतिपय विस्थापित नागरिक पुनःस्थापना र क्षतिपूर्तिको बाटो हेरिरहेका छन् ।
भोटेकोशीको पीडा अझै बाँकी छ । त्यही बेला बूढीगण्डकीले फेरि उस्तै प्रकृतिको जोखिमको प्रश्न उठाएको छ । यसको अर्थ हरेक बाढीको कारण एउटै हो भन्ने होइन । भोटेकोशी र बूढीगण्डकीमा बाढी आउनुको वास्तविक कारण फरक हुन सक्छ । तर दुवै घटनाले एउटा साझा कमजोरी देखाएका छन्– पहाडी र हिमाली क्षेत्रमा माथिल्लो जलाधारमा हुने घटनाको सूचना तलका बस्तीमा समयमै पु¥याउने व्यवस्था कति प्रभावकारी छ ?
नेपालमा बाढी आएपछि उद्धार टोली परिचालन गर्ने, राहत सामग्री पठाउने र क्षतिको विवरण संकलन गर्ने काम हुन्छ । तर विपद् आउनुअघि जोखिम पहिचान गर्ने, नदी थुनिएको अवस्था पत्ता लगाउने र सम्भावित बाढीबारे नागरिकलाई समयमै खबर गर्ने प्रणाली कति बलियो छ ? यही प्रश्नको जवाफ खोज्न अब ढिला गर्नु हुँदैन ।
नदीको सतह बढेपछि मात्रै जोखिम पहिचान गरेर पुग्दैन । माथिल्लो क्षेत्रमा पहिरो खस्ने सम्भावना, नदी थुनिन सक्ने स्थान र अचानक बाढी आउन सक्ने जोखिमको नियमित निगरानी आवश्यक छ । जोखिम देखिएपछि सूचना स्थानीय तह, सुरक्षा निकाय र समुदायसम्म तत्काल पुग्ने व्यवस्था चाहिन्छ । सूचना मात्रै दिएर पनि पुग्दैन, मानिसलाई सुरक्षित स्थानमा लैजान सक्ने तयारी पनि हुनुपर्छ ।
अहिले भने पहिलो प्राथमिकता बाढी प्रभावित परिवारलाई सुरक्षित राख्नु हो । घर गुमाएकालाई तत्काल बसोबास, खाद्यान्न, लत्ताकपडा, स्वच्छ पिउने पानी र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । त्यसपछि पुनःस्थापनाको काम अघि बढाउनुपर्छ । तर प्रभावित नागरिकलाई राहत बाँडेर र घर बनाउन केही रकम दिएर मात्रै राज्यको जिम्मेवारी पूरा हुँदैन । फेरि त्यही ठाउँमा घर बनाउँदा अर्को बाढीले उस्तै क्षति पु¥याउने जोखिम छ कि छैन, त्यसको मूल्यांकन गर्नुपर्छ । जोखिमयुक्त ठाउँमा पुनर्निर्माण गर्न बाध्य पार्ने अवस्था अन्त्य गर्नुपर्छ । राहत र क्षतिपूर्तिका लागि पीडितले कागजपत्र बोकेर कार्यालय धाउनुपर्ने झन्झट पनि कम गर्नुपर्छ । भोटेकोशीले दिएको चेतावनी बिर्सन नपाउँदै बूढीगण्डकीले फेरि झस्काएको छ ।
दशैँको पहिलो दिन उत्तरी गोरखाका बस्तीमा बाढीले घर र पुल बगायो । तर त्यो भेलले उठाएको प्रश्न घर र पुल पुनर्निर्माणमा मात्रै सीमित छैन । प्रश्न हो– हामीले विगतका विपद्बाट के सिक्यौँ ? भोटेकोशीको घाउ सेलाउन नपाउँदै बूढीगण्डकीमा फेरि किन यस्तो विनाशको जोखिम सामना गर्नुप¥यो ? र भोलि अर्को नदीमा यस्तै घटना भयो भने हामीसँग नागरिकलाई जोगाउने तयारी छ कि छैन ?
दशैँको खुसीमा आँसु मिसिएका परिवारलाई अहिले भाषण होइन, साथ चाहिएको छ । आश्वासन होइन, राहत चाहिएको छ । र, राहतसँगै भविष्यमा यस्तो विपद् दोहोरिँदा ज्यान र घरबार जोगाउन सक्ने बलियो व्यवस्था चाहिएको छ । भोटेकोशीको घाउ अझै निको भएको छैन, बूढीगण्डकीले अर्को चोट थपेको छ । अब पनि चेत्ने कि अर्को विपद्को प्रतीक्षा गर्ने ? प्रश्न नदीसँग मात्रै होइन, राज्यको तयारी र जिम्मेवारीसँग पनि छ ।













