काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री पदमा विजयी उदयशम्शेर राणाले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

महाधिवेशन सफल बनाउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, शुभचिन्तक तथा सञ्चारकर्मीलाई धन्यवाद दिँदै राणाले महाधिवेशन निर्वाचनमा नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई नयाँ नीति तथा कार्यक्रम तय गरेर पार्टीलाई अघि बढाउने अवसर भएको बताएका छन् ।
उनले महाधिवेशनको प्रतिस्पर्धालाई आन्तरिक तथा मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै निर्वाचित हुने साथीहरूले बढी जिम्मेवारी पाएको भए पनि यसलाई कसैको जित र कसैको हारका रूपमा बुझ्न नहुने बताए । निर्वाचनमा कम मत ल्याएका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ रहेको छ ।
राणाले विशेष महाधिवेशनले दिएको रूपान्तरणको म्यान्डेटअनुसार जनतामाझ पुग्ने नीति तथा कार्यक्रम ल्याएर कांग्रेसलाई अघि बढाइने बताए । महामन्त्रीमा उदयशम्शेरसँगै प्रदीप पौडेल र डिला संग्रौला निर्वाचित भएका छन् ।













