Logo
Logo

विश्वकप लिग २ः ओमानमाथि नेपालको शानदार जित


0
Shares

काठमाडौं । बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा भएको खेलमा नेपालले ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा मात्र १५० रनमा समेटियो ।

ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । १२औं ओभरमै ४१ रन बनाउँदा ६ विकेट गुमाएर सङ्कटमा परेको ओमानका लागि विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरेका थिए । ओडेरा २५ रन बनाएर आउट भएका थिए ।

नेपालको जितमा बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो । नन्दन यादवले ६ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रनको मजबुत योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ६७ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान दिए । अन्त्यतिर करण केसीले १६ बलमा ४० रनको आक्रामक पारी खेलेका थिए । उनले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का र अन्तिम ओभरमा शाह फेसललाई एक छक्का प्रहार गरे ।

यस्तै, अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७-३७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे । ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट तथा हस्नेन शाहले १ विकेट लिए ।

यो जितसँगै लिग-२ को अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ । ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा यथावत् छ । नेपालले अब आफ्नो अर्को खेल आगामी शनिबार क्यानडाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्