काठमाडौं । पूर्वप्रधानन्याधीश चोलेन्द्रशम्शेर राणादेखि अर्का बिचौलिया इनम सापकोटालाई समेत प्रयोग गरेर थुनाबाहिर रहने कोसिस गरेका दीपक भट्ट र उनको समूहलाई थप अर्को मुद्दा लागेको छ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको बीमा कोष दुरुपयोग तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विवादास्पद व्यवसायी भट्टसहित १४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

चोलेन्द्रसँगको सेटिङ बाहिर आएपछि नख्खु कारागारबाट सिन्धुपाल्चोक जेल सरुवा गरिएका भट्टमाथि यो छैटौ मुद्दा हो । सरकारले चोलेन्द्रशमशेर राणासँग जोडिएका सबै प्रकारका जन्जालहरु तोड्नेक्रममा भट्टमाथि अर्को मुद्दा लगेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूबाट कुल ३ अर्ब ४६ करोड २४ लाख ३५ हजार ४४९ रुपैयाँ बिगो असुल गर्न तथा उनीहरूको बैंक खातामा रहेको रकम र नाममा रहेका सम्पत्ति जफत गर्न माग गरिएको छ ।
असोज २२ गते दर्ता भएको मुद्दामा बीमासम्बन्धी कसुरतर्फ १ अर्ब ६९ करोड ८४ लाख ३५ हजार ४४९ रुपैयाँ र सम्पत्ति शुद्धीकरणतर्फ १ अर्ब ७६ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ । विभागको अनुसन्धानले बीमा व्यवसायबाट प्राप्त रकमलाई ब्रोकर कमिसनको आवरणमा विभिन्न व्यक्ति तथा कम्पनीका खातामा पु¥याएर अन्य कारोबारमा प्रयोग गरिएको र रकमको वास्तविक स्रोत लुकाउने प्रयास भएको निष्कर्ष निकालेको छ ।
मुद्दामा हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक समितिमा रहेका शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, सुवासकुमार झुनझुनवाला, साक्षी वंशल गुप्ता, रोहित गुप्ता, राजीव मोर र शुभेच्छा खरेल प्रतिवादी छन् । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल र चन्द्रशेखर राममूर्ति तथा तत्कालीन कार्यकारी निर्देशक मनिष कुमारलाई पनि अभियोग लगाइएको छ ।
त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिकी अध्यक्ष अञ्जना नेपाल, सुधीरकुमार मल्लिक, आयुष्मा नेपाल भट्ट, मनोजकुमार अग्रवाल, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, मृदुला सरिया तथा फक्स ट्राभल्स एन्ड टुर्स प्रालिसँग सम्बन्धित कारोबारलाई पनि विभागले अनुसन्धान र अभियोगसँग जोडेको छ । अभियोगमा नाम जोडिएका व्यक्तिहरूमाथिका आरोप अदालतबाट पुष्टि हुन बाँकी छन् ।
२३ करोडको ब्रोकर कमिसन
विभागको अभियोगपत्रअनुसार हिमालयन रि–इन्स्योरेन्सले जीवन बीमा कम्पनीहरूबाट पुनर्बीमा व्यवसाय प्राप्त गराएको भन्दै एलियन्ट इन्स्योरेन्स ब्रोकर्सलाई २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ ब्रोकेज खर्चका रूपमा भुक्तानी गरेको देखाइएको छ । तर अनुसन्धानका क्रममा सम्बन्धित बीमा कम्पनीहरूसँग एलियन्टको सम्झौता तथा कारोबारको औचित्यमाथि प्रश्न उठेको दाबी गरिएको छ ।
विभागका अनुसार हिमालयन रि–इन्स्योरेन्सले विभिन्न मितिमा एलियन्टलाई पाँच पटकमा करिब २८ करोड रुपैयाँ पेस्की दिएको थियो । अनुसन्धानबाट उक्त रकमको केही हिस्सा वास्तविक कारोबारसँग सम्बन्धित नभएको र आपसी मिलेमतोमा कृत्रिम वित्तीय कारोबार खडा गरी भुक्तानी गरिएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
अभियोगअनुसार, ब्रोकर कमिसनका नाममा भुक्तानी गरिएको रकमलाई विभिन्न माध्यमबाट अन्य व्यक्तिका खातामा पठाउने, कम्पनीका नाममा सम्पत्ति खरिद गर्ने तथा रकमको स्रोत लुकाउने काम भएको थियो । रकमको प्रवाह, बैंकिङ कारोबार र लेखा अभिलेखलाई आधार बनाउँदै विभागले यसलाई बीमा कोषको दुरुपयोग र सम्पत्ति शुद्धीकरणसँग जोडेको छ ।
यसरी भयो रकम स्थान्तरण
यस प्रकरणमा रकमको प्रवाह र पारिवारिक सम्बन्धलाई लिएर पनि गम्भीर प्रश्न उठाइएको छ । विभागको अभियोगसँग सम्बन्धित विवरणअनुसार एलियन्ट इन्स्योरेन्स ब्रोकर्सकी अध्यक्ष अञ्जना नेपाल र आयुष्मा नेपाल भट्टका खातामार्फत उक्त रकम स्थानान्तरण भएको तथा त्यसलाई अन्य कारोबारमा प्रयोग गरिएको पाइएको छ ।
अञ्जना नेपाललाई बीमासम्बन्धी कसुरमा प्रत्यक्ष संलग्न रहेको र सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ । उनीसँग बीमा कसुरतर्फ २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ र सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १५ लाख रुपैयाँ बिगो माग गरिएको छ ।
त्यसैगरी, सुधीरकुमार मल्लिक र आयुष्मा नेपाल भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा जनही २१ करोड १५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । विभागले रकम विभिन्न व्यक्ति तथा कम्पनीको खातामा पु¥याएर कारोबारको वास्तविक प्रकृति लुकाइएको दाबी गरेको छ । यद्यपि, रकमको अन्तिम गन्तव्य, प्रत्येक प्रतिवादीको भूमिका र कारोबारको वैधानिकताबारे अन्तिम निष्कर्ष अदालतको न्यायिक प्रक्रियाबाट तय हुनेछ ।
नियामकको भूमिकामाथि प्रश्न
यो प्रकरणको अर्को महत्त्वपूर्ण पक्ष हिमालयन रि–इन्स्योरेन्सको व्यवस्थापन, सञ्चालक समिति र बीमा क्षेत्रको नियामकीय भूमिकासँग सम्बन्धित छ । विभागले कम्पनीको रकम भुक्तानी, लेखांकन तथा त्यससम्बन्धी निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा सञ्चालक र उच्च व्यवस्थापकहरूलाई समेत प्रतिवादी बनाएको छ ।
कम्पनीको सञ्चालक समितिमा रहेका व्यक्तिहरूले विवादित कारोबारबारे के जानकारी राखेका थिए, भुक्तानी प्रक्रिया कसरी अघि बढ्यो र त्यसको अनुमोदनमा कसको भूमिका थियो भन्ने विषय अब अदालतमा परीक्षण हुनेछ ।
नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालको नाम पनि यस प्रकरणमा जोडिएको छ । एलियन्टलाई ब्रोकरका रूपमा दिइएको इजाजत तथा त्यससँग सम्बन्धित प्रक्रियामा उनको भूमिकाबारे प्रश्न उठाइएको छ । सिलवालविरुद्ध २ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको विवरण सार्वजनिक भएको छ । नियामक निकायका तत्कालीन प्रमुखदेखि बीमा कम्पनीका सञ्चालक र व्यवस्थापन तहका अधिकारीसम्मको नाम जोडिनुले यो प्रकरणलाई एउटा कम्पनीको आन्तरिक वित्तीय विवादमा सीमित नराखी बीमा क्षेत्रको नियमन, जवाफदेहिता र सुशासनसँग सम्बन्धित गम्भीर मुद्दा बनाएको छ ।
मर्सिडिज खरिदमा त्यही रकम
विभागले बीमा व्यवसायसँग सम्बन्धित रकम दुरुपयोग गरी विलासी सम्पत्ति खरिद गरिएको आरोपसमेत लगाएको छ । अभियोगपत्रमा दीपक भट्टले फक्स ट्राभल्स एन्ड टुर्स प्रालिका नाममा सवारीसाधन खरिद गर्न रकम प्रयोग गरेको उल्लेख छ ।
विभागको दाबीअनुसार मनोजकुमार अग्रवाल सञ्चालक रहेको फक्स ट्राभल्सका नाममा सिद्धार्थ बैंकबाट कर्जा लिएर बा १९ च ३४०६ नम्बरको मर्सिडिज बेन्ज गाडी खरिद गरिएको थियो । कागजमा कम्पनीको नाममा रहेको उक्त गाडी भट्टले प्रयोग गर्ने गरेको र इन्फिनिटी होल्डिङ्सको सानेपा कार्यालयबाट बरामद भएको विवरण पनि सार्वजनिक भएको छ ।
विभागले यस कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग जोड्दै गाडी जफत गर्न अदालतसमक्ष माग गरेको छ । फक्स ट्राभल्ससँग सम्बन्धित कारोबारमा २ करोड ४० लाख रुपैयाँ सम्पत्ति शुद्धीकरणको बिगो दाबी गरिएको छ । मनोजकुमार अग्रवाल र सूर्यप्रसाद सिलवालविरुद्ध पनि जनही २ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको विवरण छ ।
मृदुला सरियामाथि बीमकको रकम दुरुपयोग गरी आर्थिक हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप लगाइएको छ । उनीसँग ४५ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।
भट्टविरुद्ध मात्रै ४५ करोड बढी बिगो
विभागले दीपक भट्टविरुद्ध बीमासम्बन्धी कसुरमा २३ करोड ९२ लाख ५ हजार ६४ रुपैयाँ र सम्पत्ति शुद्धीकरणमा २१ करोड १५ लाख रुपैयाँ बिगो माग गरेको छ । दुवै कसुर जोड्दा उनीविरुद्ध कुल ४५ करोड ७ लाख ५ हजार ६४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
भट्टविरुद्ध यसअघि पनि सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भइसकेको छ । गत जेठ २९ गते दायर उक्त मुद्दामा उनीसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो । सो मुद्दामा विभागले भट्टसँग २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो माग गरेको थियो ।
त्यस अभियोगपत्रमा बीमा क्षेत्रबाट भएको भनिएको रकम हिनामिना तथा आर्थिक दुरुपयोगबाट प्राप्त रकम नेपाल रिइन्स्योरेन्सलगायतका कम्पनीको सेयर खरिदमा प्रयोग गरी गैरकानुनी स्रोतलाई वैध देखाउने प्रयास भएको दाबी गरिएको थियो । उक्त कारोबारमा ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा लगानी भएको विभागको अभियोगपत्रमा उल्लेख रहेको विवरण सार्वजनिक भएको थियो । भट्टविरुद्ध सेयर कारोबार र बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत दर्ता भएको छ ।
विश्वसनीयतामाथि चुनौती
यस प्रकरणले नियामक निकाय बीमा प्राधिकरणमाथि पनि प्रश्न उठेको छ । बीमा कम्पनीको कोष व्यवस्थापन, पुनर्बीमा ब्रोकरको छनोट, कमिसन भुक्तानी, सञ्चालक समितिको निगरानी र नियामक निकायको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
बीमा क्षेत्रको वित्तीय कारोबारलाई कृत्रिम भुक्तानी, अस्वाभाविक रकम प्रवाह र सम्पत्ति खरिदको माध्यमबाट दुरुपयोग गरिएको विभागको निष्कर्ष सही ठहरिएमा त्यसले कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली मात्र होइन, समग्र बीमा क्षेत्रको पारदर्शिता र विश्वसनीयतामाथि पनि गम्भीर असर पार्नेछ । अनुसन्धानका क्रममा संकलित कागजात, बैंकिङ कारोबार, लेखा अभिलेख र नियामक निकायबाट प्राप्त प्रतिवेदनका आधारमा रकमको दुरुपयोग तथा स्रोत लुकाउने कार्य भएको विभागको दाबी छ ।













