Logo
Logo

खगेन्द्रको उम्किने बहाना कि प्रविधिको षड्यन्त्र ?


189
Shares

गाली आफ्नै, कि एआईको खेल रु विवाद चर्किएपछि आवाज नचिन्ने बहाना कि साँच्चै प्रविधिको करामत ? रास्वपा सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियोले यही प्रश्न उठाएको छ । एआईको नाम लिएर उम्किन सजिलो छ, तर सत्यबाट भाग्न सजिलो छैन । आखिर अडियो सक्कली हो कि नक्कली रु आज हामी यसै विषयमा चर्चा गर्नेछौँ ।

एउटा अडियो सार्वजनिक हुन्छ, त्यसले ठूलै विवाद निम्त्याउँछ । प्रश्न उठ्छन्, जवाफ मागिन्छ र चौतर्फी आलोचना सुरु हुन्छ । अनि केही समय नबित्दै एउटा जवाफ आउँछ-‘त्यो आवाज मेरो होइन, एआईले बनाएको हो !’ पछिल्लो समय सार्वजनिक व्यक्तिहरू विवादित अडियो बाहिरिएपछि पन्छिनका लागि दिने स्पष्टीकरणको नयाँ शैली बनेको छ यो । तर प्रश्न उही छ– के साँच्चै त्यो अडियो एआईले नै बनाएको हो वा आफ्नै आवाज र जिम्मेवारीबाट उम्किन खोजिएको हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो काण्डले अहिले यस्तै प्रश्न उठाएको छ । सार्वजनिक अडियोमा महिलाप्रति अपमानजनक, अश्लील र आपत्तिजनक शब्द प्रयोग गरिएको छ ।
 
सांसद सुनारको यो अडियो सार्वजनिक भएपछि उनको बोली, आचरण र सार्वजनिक जीवनमा रहने व्यक्तिको जिम्मेवारीबारे बहस सुरु भएको छ । तर, विवादित अडियोमा सुनिएको आवाज सुनारकै हो कि होइन रु रास्वपाका केही समर्थक र स्वयं सुनारले भने यसको दोष एआईलाई दिइरहेका छन् । 

खगेन्द्र सुनारसँग जोडिएको अडियो विवादले उठाएको मूल प्रश्न गालीका शब्द मात्र होइनन् । मूल प्रश्न हो-त्यो आवाज कसको हो, संवाद वास्तविक हो कि होइन, र त्यसको सत्यता कसरी पुष्टि गर्ने ? त्यो भन्दा पहिले गाली र अश्लील शब्दसमेत बनाउन एआई सक्षम छ त भन्नेबारे चर्चा गरौँ । के एआईले गाली गर्न सक्छ ? अश्लील शब्द बोल्न सक्छ ? वा कसैलाई धम्की दिएको जस्तो आवाज निकाल्न सक्छ रु यसको सिधा जवाफ हो–सक्छ ।

अहिलेको एआई प्रविधिले सामान्य संवाद मात्र होइन, अपमानजनक शब्द, यौनजन्य टिप्पणी, गालीगलौज र धम्कीपूर्ण आवाजसमेत तयार पार्न सक्छ । कुनै व्यक्तिको आवाजको नमुना उपलब्ध भएमा, त्यससँग दुरुस्तै मिल्दो कृत्रिम आवाज बनाउन सम्भव छ । यसका लागि सम्बन्धित व्यक्तिलाई स्टुडियोमै बोलाएर रेकर्ड गराउनुपर्छ भन्ने छैन । इन्टरनेटमा उपलब्ध भिडियो, अन्तर्वार्ता, भाषण वा अन्य रेकर्डिङबाट आवाजको नमुना लिएर त्यस्तै आवाज निर्माण गर्ने प्रविधि सहजै उपलब्ध छन् । त्यसपछि त्यही आवाजमा आफूले चाहेको संवाद बोलाउन सकिन्छ ।

अर्थात्, कुनै व्यक्तिले वास्तविक जीवनमा कहिल्यै नबोलेको गाली वा संवादसमेत उसैको आवाजमा सुनिने गरी तयार पार्न सकिन्छ । त्यसैले यौनजन्य वा अश्लील शब्द प्रयोग हुँदैमा त्यो अडियो शतप्रतिशत वास्तविक नै हुन्छ भन्ने हुँदैन । तर अर्कोतर्फ, अडियोमा गाली भएकै कारण त्यो एआईबाटै बनाइएको हो भन्ने निष्कर्षमा पुग्नु पनि गलत हुन्छ ।

खगेन्द्र सुनारसँग जोडिएको अडियो विवादमा यही पक्ष महत्त्वपूर्ण छ । उक्त अडियोमा महिलाप्रति अपमानजनक र अश्लील भाषा प्रयोग भएको छ । यसको सत्यता पुष्टि गर्न दुईवटा प्रश्नको छुट्टाछुट्टै जवाफ खोज्नुपर्छ । पहिलो, अडियोमा सुनिएको आवाज सुनारकै हो कि होइन ? अनि दोस्रो, आवाज उनकै भएपनि सार्वजनिक संवाद वास्तविक रेकर्डिङ हो वा सम्पादन, जोडघटाउ र एआईको प्रयोगबाट तयार पारिएको हो ?

यी दुई प्रश्नको जवाफ नखोजी अडियोलाई अन्तिम प्रमाण मान्नु हतारो हुन्छ । तर, निष्पक्ष परीक्षण नै नगरी ‘एआईले बनाएको हो’ भन्दै पन्छिनु झनै गैरजिम्मेवारपन हो । एआईले मानिसको आवाज नक्कल गर्न सक्छ भन्ने तथ्य सत्य हो, तर यही तथ्यलाई ढाल बनाएर हरेक विवादित अडियोलाई नक्कली भन्न मिल्दैन । प्रविधिको सम्भावना र कुनै खास अडियोको वास्तविकता दुई फरक विषय हुन् । 

अब, सांसद सुनारको अडियो सक्कली कि नक्कली भनेर कसरी छुट्याउने रु भन्नेबारे चर्चा गरौँ । इन्टरनेटमा एआईबाट बनेको आवाज पत्ता लगाउने विभिन्न उपकरण उपलब्ध छन् । तर तिनले देखाएको नतिजालाई नै अन्तिम सत्य मान्न सकिँदैन । एउटा उपकरणले अडियो एआईबाट बनेको सम्भावना देखाउँदा अर्कोले त्यसको विपरीत नतिजा दिन सक्छ । एआई डिटेक्टरले कतिपय अवस्थामा वास्तविक आवाजलाई कृत्रिम र कृत्रिम आवाजलाई वास्तविक ठान्ने जोखिम रहन्छ । अडियोको गुणस्तर, सम्पादन, कम्प्रेसन र प्रयोग गरिएको प्रविधिले पनि नतिजामा प्रभाव पार्छ ।

अडियोको वास्तविकता पत्ता लगाउन कानले सुनेर मात्र पुग्दैन, त्यसका लागि प्राविधिक परीक्षण नै आवश्यक हुन्छ । विज्ञहरूले अडियोको तरङ्ग, आवाजको आवृत्ति, पृष्ठभूमि ध्वनि, संवादको निरन्तरता र रेकर्डिङमा भएका अस्वाभाविक परिवर्तनको सूक्ष्म जाँच गर्छन् । अडियोको स्पेक्ट्रोग्राम र वेभफर्म विश्लेषण गरेर असामान्य संकेतहरू पत्ता लगाउन सकिन्छ । बोल्ने व्यक्तिको उच्चारण, शब्दबीचको स्वाभाविक अन्तराल, सास फेर्ने शैली र आवाजको उतारचढावलाई पुराना रेकर्डिङसँग तुलना गरिन्छ । डिजिटल फाइलको मेटाडेटा र मूल रेकर्डिङ जाँच्दा सामग्रीको स्रोतबारे थप जानकारी प्राप्त हुन्छ ।

तर यहाँ पनि एउटा सावधानी अपनाउनुपर्छ । अडियोमा सम्पादन भएको संकेत देखिनु नै त्यो एआईबाट बनेको ठोस प्रमाण भने होइन । सामान्य सम्पादन, कम्प्रेसन, भ्वाइस म्यासेज वा फाइल फम्र्याट परिवर्तन गर्दा पनि आवाजको स्वरूपमा केही परिवर्तन आउन सक्छ । अर्कातर्फ, एआईबाट बनेका सबै अडियोमा सजिलै पत्ता लाग्ने त्रुटि हुन्छन् भन्ने पनि छैन ।

त्यसैले बजारका एआई डिटेक्टरले शतप्रतिशत सही नतिजा दिन्छन् भन्ने ग्यारेन्टी हुँदैन । तिनको नतिजालाई अन्य प्रमाणहरूसँग मिलाएर हेर्नुपर्छ । सम्भव भएसम्म मूल फाइल, त्यसको स्रोत, सम्पादनको इतिहास र डिजिटल फरेन्सिक परीक्षणलाई नै प्राथमिकता दिनुपर्छ । अर्थात्, अडियोको सत्यता सामाजिक सञ्जालको भाइरल फैसला वा अनुमानले होइन, प्रमाणमा आधारित वैज्ञानिक परीक्षणले तय गर्नुपर्छ ।

अडियोको सत्यता जाँच्न प्रविधि मात्रै पर्याप्त हुँदैन, त्यसको स्रोत र सन्दर्भ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अडियो कसले रेकर्ड ग¥यो, कहिले रेकर्ड गरियो, मूल फाइल कहाँ छ, त्यसलाई काटछाँट वा सम्पादन गरिएको छ कि छैन र सार्वजनिक हुनुअघि त्यो कस-कसको हातमा पुग्यो भन्नेजस्ता प्रश्नको उत्तर अनुसन्धानका क्रममा खोज्नुपर्छ ।

आवश्यकताअनुसार अनुसन्धान निकायले कल डिटेल, रेकर्डिङको स्रोत, सम्बन्धित व्यक्तिको बयान र अन्य स्वतन्त्र प्रमाणहरू जाँच्न सक्छन् । अडियोमा सुनिएका शब्द र सम्बन्धित व्यक्तिले प्रयोग गर्ने नियमित भाषाशैली तुलना गर्न सकिन्छ । तर, बोल्ने शैली मिल्दैमा मात्रै आवाज उसैको हो भनेर कानुनी रूपमा प्रमाणित भने भइहाल्दैन ।

सबैभन्दा महत्त्वपूर्ण कुरा मूल अडियो सुरक्षित राख्नु हो । सामाजिक सञ्जालमा पटक-पटक अपलोड वा सेयर गर्दा अडियोको गुणस्तर घट्छ । सम्पादित वा काटछाँट गरिएको भन्दा मूल फाइल नै परीक्षणका लागि बढी उपयोगी हुन्छ । अडियोको सत्यता पत्ता लगाउने काम एउटै प्रविधि वा कसैको अनुमानमा सीमित हुनु हुँदैन । प्राविधिक परीक्षण, स्रोतको प्रमाणीकरण र स्वतन्त्र प्रमाणलाई एकसाथ राखेर मात्र निष्कर्षमा पुग्नुपर्छ ।

अडियो वास्तविक ठहरिएमा त्यसको सन्दर्भ, सामग्री र सम्बन्धित व्यक्तिको जवाफदेहिताबारे प्रश्न उठ्छ । यदि नक्कली ठहरिएमा कसले, किन र कुन उद्देश्यले त्यस्तो भ्रामक सामग्री तयार पार्यो भन्ने अनुसन्धानको विषय बन्छ। दुवै अवस्थामा सत्यको खोजी अपरिहार्य छ ।

सार्वजनिक पदमा रहेका व्यक्तिको आचरणमाथि प्रश्न उठ्नु स्वाभाविक हो, तर आरोप प्रमाणित नहुँदै दोषी ठहर गर्नु न्यायोचित हुँदैन । त्यसैगरी, ‘एआईले नक्कली आवाज बनाउन सक्छ’ भन्ने प्राविधिक तथ्यलाई ढाल बनाएर हरेक आरोपबाट पन्छिनु झनै गलत हुन्छ । किनकि एआईले कसैको आवाजमा गाली बनाउन त सक्छ, तर त्यो वास्तविक हो कि नक्कली-त्यसको निष्पक्ष फैसला भने निष्पक्ष प्रमाण र प्राविधिक परीक्षणले मात्रै गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्