Logo
Logo

दशैँमा आमा-बुबालाई एउटा फरक उपहार


0
Shares

दशैँ आयो । सहरबाट गाउँ फर्किनेहरूको लर्को लागेको छ । वर्षौँदेखि काम, पढाइ र जिम्मेवारीको भारी बोकेर सहरमा बसिरहनुभएका धेरैजना दशैँ मनाउन घर फर्किँदै हुनुहुन्छ । कोही विदेशबाट आउँदै हुनुहुन्छ, कोही देशकै सहरबाट गाउँ जाँदै हुनुहुन्छ । पक्कै पनि, तपाईं पनि दशैँ मनाउन गाउँ जाँदै हुनुहुन्छ होला ।

यसपालि गाउँ जाँदा एउटा कामचाहिँ पक्कै गर्नुहोस्, आफ्ना आमाबुबाको सामाजिक सञ्जाल सफा गरिदिनुहोस् । मोबाइलको स्क्रिनमा जमेको धुलो मात्रै होइन, त्यहाँ दिनहुँ थुप्रिँदै गएको घृणा, भ्रम, झुट र अफवाह पनि पुछिदिनुहोस् ।

किनभने, हाम्रा आमाबुबाले सामाजिक सञ्जाल खोलेका छन्, कसैलाई गाली गर्न होइन । कसैको धर्म, जात वा विचारमाथि घृणा पोख्न होइन । कसैको चरित्र हत्या गर्न वा समाजमा आगो लगाउन पनि होइन । उहाँहरूले त आफ्ना सन्तानको अनुहार हेर्न, विदेशमा रहेका छोराछोरीको भिडियो हेर्न र नातिनातिनाको हाँसो सुन्न सामाजिक सञ्जाल चलाउन थाल्नुभएको हो । तर उहाँहरूले माया खोज्दै खोलेको त्यही स्क्रिनमा आज घृणाको व्यापार भइरहेको छ ।

फेसबुक खोल्यो, कसैलाई गाली गरेको भिडियो देखिन्छ । युट्युब खोल्यो, सनसनीपूर्ण शीर्षकमा झुटा दाबी भेटिन्छन् । टिकटक खोल्यो, धर्मका नाममा द्वन्द्व भड्काउने, जातका नाममा मानिसलाई विभाजन गर्ने र राजनीतिक आस्थाका आधारमा एकअर्कालाई शत्रु बनाउने सामग्री देखिन्छन् । सामाजिक सञ्जालमा फैलिएका सबै सामग्री गलत हुँदैनन्, तर सबै सामग्री सही पनि हुँदैनन् । समस्या के छ भने, कुन सही हो र कुन गलत भन्ने छुट्याउन कठिन हुने गरी झुटलाई पनि सत्यजस्तै सजाएर प्रस्तुत गरिन्छ ।

हाम्रा आमाबुबाले जीवनभर खेतबारीमा पसिना बगाउनुभयो । दुःख गरेर सन्तान हुर्काउनुभयो । समाजको सुखदुःखमा साथ दिनुभयो । तर डिजिटल संसारसँग उहाँहरू परिचित नहुन सक्नुहुन्छ । कुनै भिडियोमा ठूलो अक्षरमा लेखिएको हुन्छ– ‘अब देशमा ठूलो संकट आउँदै छ ।’ अर्कोमा लेखिएको हुन्छ– ‘यो खबर सबैलाई पठाउनुहोस्, नत्र ठूलो नोक्सानी हुन्छ ।’ कतै कुनै नेताको नाममा झुटो समाचार फैलाइएको हुन्छ, कतै धर्म र संस्कृतिमाथि आक्रमण भएको भन्दै उत्तेजना फैलाइन्छ । कतै पुरानो घटनाको भिडियोलाई नयाँ भन्दै प्रस्तुत गरिन्छ । यस्ता सामग्री देख्दा उहाँहरू डराउन सक्नुहुन्छ, रिसाउन सक्नुहुन्छ वा विश्वास गर्न सक्नुहुन्छ । अनि आफूले सत्य ठानेको कुरा अरूलाई पनि सुनाउन वा सेयर गर्न सक्नुहुन्छ ।

हामीले उहाँहरूलाई सुविधाका लागि स्मार्टफोन किनिदियौँ । इन्टरनेट चलाउन सिकायौँ । फेसबुक खोलिदियौँ । टिकटक र युट्युब डाउनलोड गरिदियौँ । विदेशमा हुँदा भिडियो कल गर्न सिकायौँ । तर त्यसमा आउने हरेक कुरा सत्य हुँदैन, अपरिचित व्यक्तिले पठाएको लिंक खतरनाक हुन सक्छ, कसैको तस्बिर वा भिडियो काटछाँट गरेर गलत सन्देश फैलाउन सकिन्छ भन्ने कुरा कति पटक सम्झायौँ ? हामीले प्रविधि त दियौँ, तर त्यसलाई सुरक्षित रूपमा प्रयोग गर्ने ज्ञान दिन बिर्सियौँ कि ?

त्यसैले यसपालिको दशैँमा टीका लगाउनुअघि, आशीर्वाद लिनुअघि र मिठोमसिनो खानुअघि एउटा सानो काम गरौँ । आमाबुबाको छेउमा बसौँ । उहाँहरूको मोबाइल हेरौँ । उहाँहरूले फलो गरेका पेज र च्यानल हेरौँ । अनावश्यक रूपमा घृणा फैलाउने, झुटा समाचार बाँड्ने, धार्मिक तथा जातीय द्वन्द्व उक्साउने र मानिसलाई अपमानित गर्ने पेजहरूबाट टाढा रहन सहयोग गरौँ । आवश्यक परे त्यस्ता पेज अनफलो गरौँ र भ्रामक सामग्रीका स्रोत ब्लक गरिदिऔँ ।

तर यो काम गर्दा उहाँहरूलाई सम्झाएर गरौँ । ‘तपाईंलाई केही थाहा छैन’ भनेर होच्याएर होइन, ‘यो कुरा गलत पनि हुन सक्छ, एकपटक जाँचौँ है’ भनेर सम्झाऔँ । उहाँहरूको उमेरलाई कमजोरी नठानौँ । बरु उहाँहरूले जीवनभर सिकाउनुभएको धैर्य र विवेकको सम्मान गर्दै डिजिटल संसारका नयाँ कुरा सिक्न सघाऔँ ।

उहाँहरूलाई कुनै समाचार साँचो हो कि होइन भनेर जाँच्ने बानी बसालौँ । स्रोत नखुलेको सामग्री तुरुन्तै सेयर नगर्न सम्झाऔँ । सनसनीपूर्ण शीर्षक देख्दैमा विश्वास नगर्न, अपरिचित लिंक नखोल्न र मोबाइलमा आएको शंकास्पद सन्देशमा व्यक्तिगत विवरण नदिन सिकाऔँ । फरक विचार राख्ने मानिसलाई शत्रु नठान्न र असहमति व्यक्त गर्दा पनि अपमान तथा घृणाको भाषा प्रयोग नगर्न प्रेरित गरौँ ।

किनभने, सामाजिक सञ्जालमा फैलिएको घृणा स्क्रिनमा मात्र सीमित भएर बस्दैन । त्यसले घरभित्रको सम्बन्ध बिगार्न सक्छ, छिमेकीबीच वैमनस्य बढाउन सक्छ र समाजमा वर्षौँदेखि कायम सद्भाव भत्काउन सक्छ । एउटा झुटो पोस्टले मनमा शंका जन्माउन सक्छ । एउटा भड्किलो भिडियोले वर्षौँदेखि मिलेर बसेका मानिसलाई एकअर्काविरुद्ध उभ्याउन सक्छ । हामीले सामाजिक सञ्जालमा देख्ने हरेक कुरालाई सत्य मानेर विश्वास गर्न थाल्यौँ भने, अरूले हाम्रो सोच र भावनालाई सजिलै नियन्त्रण गर्न सक्छन् ।

हाम्रा आमाबुबाले जीवनमा धेरै कुरा देख्नुभएको छ । दुःख, अभाव, संघर्ष र सम्बन्धको महत्त्व बुझ्नुभएको छ । उहाँहरूलाई चाहिएको घृणा होइन, साथ हो । विवाद होइन, संवाद हो । भ्रम होइन, सही सूचना हो । अनि सबैभन्दा बढी आफ्ना सन्तानको माया हो ।

याद गरौँ, विदेशमा रहेका छोराछोरीसँग भिडियो कल गर्न खोलेको मोबाइलमा यदि दिनभरि घृणा, आक्रोश र झुट मात्रै आइरहेको छ भने त्यो प्रविधिको सुविधा मात्र रहेन, मानसिक अशान्तिको माध्यम पनि बन्न सक्छ । त्यसैले उहाँहरूको डिजिटल संसारलाई सुरक्षित, सकारात्मक र उपयोगी बनाउनु हाम्रो पनि जिम्मेवारी हो ।

दशैँ भनेको निधारमा टीका र कानमा जमरा लगाउने पर्व मात्रै होइन । यो सम्बन्ध जोड्ने, मन सफा गर्ने र परिवारसँग नजिक हुने अवसर पनि हो । घर फर्किँदा मिठाई, लत्ताकपडा र उपहार लिएर जानुहोस् । तर त्यससँगै आफ्ना बुबाआमाका लागि केही समय पनि लिएर जानुहोस् । उहाँहरूको कुरा सुनिदिनुहोस् । मोबाइल चलाउँदा के हेर्नुहुन्छ, के पढ्नुहुन्छ र के सेयर गर्नुहुन्छ भनेर हेर्नुहोस् । अनि उहाँहरूको सामाजिक सञ्जालमा जमेको घृणा सफा गरिदिनुहोस् ।

हामीले आफ्ना आमाबुबालाई संसार देखाउन मोबाइल दियौँ । त्यो मोबाइलबाट संसारको घृणा मात्रै देखियो भने हाम्रो उद्देश्य अधुरो हुन्छ । उहाँहरूले आफ्ना सन्तानको अनुहार हेर्न खोजेको स्क्रिनमा झुट, घृणा र विभाजन होइन, माया, सद्भाव र सत्य भेटिनुपर्छ । त्यसले यसपालिको दशैँमा घरको आँगन मात्रै होइन, बुबाआमाको डिजिटल संसार पनि सफा गरौँ । किनभने घर सफा राख्नु हाम्रो संस्कार हो, मन सफा राख्नु हाम्रो जिम्मेवारी हो, अनि सामाजिक सञ्जालमा फैलिएको घृणा सफा गर्नु आजको आवश्यकता हो ।

दशैँमा गाउँ जाँदा आमाबुबालाई उपहार दिनुहोस्, आशीर्वाद लिनुहोस्, अनि उहाँहरूको सामाजिक सञ्जाल पनि सफा गरिदिनुहोस् । तपाईंले हटाउने एउटा घृणित पोस्टले कसैको मनमा पलाउन लागेको घृणा रोक्न सक्छ । तपाईंले सिकाउने एउटा सही बानीले उहाँलाई मात्रै होइन, उहाँमार्फत धेरैलाई गलत सूचनाबाट जोगाउन सक्छ । आउनुहोस्, दशैँ–तिहारको यो अवसरमा घरको आँगनसँगै बुबाआमाको डिजिटल संसारलाई पनि सफा, सुन्दर र शान्त बनाउने सङ्कल्प गरौँ ।

प्रतिक्रिया दिनुहोस्