काठमाडौँ । एउटा यस्तो सम्बन्ध, जसमा विवाहको आशा र अटुट विश्वास थियो। त्यही विश्वासका आधारमा आर्थिक सहयोगको शृङ्खला सुरु भयो, जसको हिसाब पछि गएर लाखौँ रुपैयाँमा पुग्यो। कहिले आमाको बिरामी, कहिले बुबाको शल्यक्रिया, कहिले बहिनीको समस्या त कहिले व्यापार र अस्ट्रेलिया जाने बहाना। रकम माग्ने कारणहरू दिनप्रतिदिन फेरिइरहे, तर विश्वासमा परेकी पीडित महिलाले रकम दिने क्रम रोकिएन। अन्ततः सुनका गहना बेच्ने, आफन्तसँग हात फैलाउने र वित्तीय संस्थाबाट चर्को ब्याजमा ऋण काढ्नेसम्मको दर्दनाक अवस्था आयो।

यो कुनै काल्पनिक कथा होइन, काठमाडौँ महानगरपालिका–३०, मैतीदेवी क्षेत्रमा बस्दै आएकी ३७ वर्षीया एकल महिला ममता थापा (परिवर्तीत नाम) ले जिल्ला प्रहरी परिसर, भद्रकालीमा पेस गरेको जाहेरीमा उल्लिखित यथार्थ घटनाक्रम हो । उनले शरण कुमार महर्जनविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा कडा अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गराएकी हुन् ।
मैतीदेवी बस्दै आएकी ममता र शरण कुमार महर्जनबीच सोही क्रममा चिनजान भएको थियो। ममताका अनुसार, महर्जनले आफू श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको र पूर्ण रूपमा एक्लो भएको दाबी गरेका थिए।
दुवै जना एकल अवस्थामा रहेको भन्दै महर्जनले श्रीमान्–श्रीमतीसरह सँगै बस्ने र विवाह गर्ने प्रस्ताव राखेका थिए। एकल महिला हुनुको फाइदा उठाउँदै महर्जनले ममताको भावनात्मक विश्वास जिते। सोही आश्वासनका आधारमा उनीहरू करिब एक वर्षसम्म वैवाहिक सम्बन्धजस्तै अवस्थामा बसे। तर, पछि वास्तविकता बुझ्दै जाँदा महर्जनको सम्बन्धविच्छेद नभएको र उनी आफ्नै श्रीमती तथा परिवारसँगै बसिरहेको तथ्य खुल्यो। सम्बन्धविच्छेदको झुटा नाटक र विवाहको आश्वासन दिएर महर्जनले ठगीको जग बसालेको जाहेरीमा उल्लेख छ।
जाहेरीमा उल्लेख भए अनुसार ममताले २०८१ साल भदौदेखि २०८२ साल मंसिरसम्मका विभिन्न मितिमा गरी कुल ८६ लाख ५६ हजार ५०० रुपैयाँ गुमाएकी छन्। यस रकममा ६७ वटा कारोबारहरू समावेश छन्। सुरुमा तरकारी व्यापार गर्ने भन्दै १ लाख ५० हजार रुपैयाँ मागिएको थियो। त्यसपछि व्यापार सुरु गर्न आवश्यक सामान र सफ्टवेयर खरिद, ल्यापटप मर्मत, चितवनको नापी र जग्गाको कामका नाममा पटक–पटक रकम असुलियो।
२०८१ साल असोजमा सुरुमा ७ लाख रुपैयाँ मागिएकोमा पटक–पटक गरी २४ लाख रुपैयाँसम्म लगिएको उजुरीमा उल्लेख छ। त्यसैगरी आमालाई क्यान्सर भएको, अस्पताल भर्ना, औषधि उपचार, आँखा जाँच, सिटी स्क्यान तथा घरायसी खर्चको बहाना बनाइयो। बुबाको शल्यक्रियाका लागि ९ लाख रुपैयाँ र श्वासनलीमा जाली राख्नुपर्ने कारण देखाएर सहकारीबाट २ लाख ऋण निकालेर बुझाइएको थियो। यति मात्र नभई बहिनीको इन्गेजमेन्ट, स्कुटर खरिद, बहिनीको बिरामी र अस्ट्रेलिया जाने तयारी तथा टिकट बुकिङका नाममा समेत रकम मागिएको थियो।
२०७२ सालको एसएलसी उत्तीर्ण भएपछि प्राविधिक क्षेत्रतिर पढाउने र काम बनाइदिने लोभ देखाएर ठगहरूले जालो बुनेका थिए। बैंक खाता प्रयोग गर्दा प्रमाण छाडिने डरले महर्जनले सधैँ नगदै हात–हातै रकम लिने गरेको ममताको दाबी छ। रकम माग्दा नयाँ–नयाँ नम्बर, कहिले मामा त कहिले बहिनीको नम्बर भनेर फोन गराउने गरिएको थियो।
यो प्रकरणमा ममताले आफ्ना सम्पूर्ण बचत र गहना गुमाउनुका साथै ठूलो ऋणको भार बोक्नुपरेको छ। अस्पताल खर्चका लागि गणेश औँठी बेचेर ९६ हजार, आमाको क्यान्सर उपचार र केमोथेरापीका लागि नौगेडी र मंगलसूत्र बेचेर ३ लाख ९५ हजार तथा बहिनी–ज्वाइँका लागि भन्दै सुनको बाला र बुबाको औँठी बेचेर ४ लाख २५ हजार ५०० रुपैयाँ बुझाएकी थिइन्।
बुबाको शल्यक्रियाका लागि स्वयम्भूमा सुन धितो राखेर ९ लाख र ठमेलमा सुन धितो राखेर १३ लाख रुपैयाँ ऋण निकाली दिएकी थिइन्। सिक्री धितो राखेर सफ्टवेयरका लागि १ लाख ४० हजार जुटाइएको थियो। यसबाहेक सहकारीबाट ऋण, बैंकमा आमाको सुन धितो, तथा आफ्ना भाइ, कान्छी बहिनीबाट ५० हजार सापट लिएकी थिइन्। साथै, आफन्तहरूसँग मागेर समेत पैसा दिएकी थिइन्।
रकमका अलावा महर्जनले ममता र उनका बुबाको पासपोर्ट, स्कुटर, ३२ इन्चको सामसुङ टेलिभिजन, ट्रेडमिल र आईफोन मोबाइलसमेत लगेर आफ्नो नियन्त्रणमा राखेका छन्। २०८२ चैत २ गते ममताले रकम फिर्ता माग्दा महर्जनले “म तेरो कुनै रकम दिन्नँ, तैँले मलाई केही गर्न सक्दैनस्, तँजस्ता कति आए कति गए” भन्दै प्रत्यक्ष धम्की दिएको ममताको आरोप छ।
ठगिएको आशङ्का लागेपछि ममता १ घण्टामै घरधनीको सहयोगमा शरण कुमार महर्जनको घर पुगेकी थिइन्। तर त्यहाँ महर्जनका बुबा, आमा, श्रीमती र छोरा मिलेर उल्टै धम्क्याउने र हुलमल्ल गर्ने काम गरेको ममताको आरोप छ।
ममता भन्छिन्– ‘बुबा–आमाले “हामीलाई केही थाहा छैन, घरमा साना बालबच्चा छन्, हामीलाई फसाउन र थुन्न खोजेको” भन्दै कराए भने छोराले “घरमा प्रेसरको बिरामी हुनुहुन्छ, केही भयो भने तिमीलाई छोड्दिनँ” भन्दै धम्की दिए। श्रीमतीले उल्टै “मेरो बुढासँग किन हिँडेको?” भन्दै आफूमाथि दोषारोपण गरिन्।’ पछि आरोपीका परिवारले सम्पूर्ण परिवार घुम्न गएका फोटो तथा भिडियोहरू टिकटकमा पोस्ट गरेपछि मात्र सिङ्गो परिवार नै योजनाबद्ध ठगीमा संलग्न रहेको तथ्य खुलेको थियो।
विवाद बढेपछि कीर्तिपुर प्रहरी वृत्तमा छलफलका लागि बोलाउँदा महर्जनको परिवारले बिना प्रमाण पीडितकै घरमा गई “हाम्रो छोरो आईटी इन्जिनियर हो” भन्दै धाक देखाएको ममताको आरोप छ। त्यसपछि वडा कार्यालयमा भोलिपल्ट आउने भनेर निवेदन दिएका आरोपी ६ महिनासम्म फरार भए। लामो समयको खोजीपछि गत साउन २ गते बुधबार बाफल क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शरण कुमार महर्जनलाई पक्राउ गर्न सफल भयो।
पक्राउ परेका आरोपीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत दफा २४९ (ठगी), २५२ (आपराधिक विश्वासघात) र २५३ (आपराधिक लाभ) बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
आरोपी ठगी मुद्दामा १ लाख रुपैयाँ धरौटीमा छुटेका भए पनि बैंकिङ कसुर (चेक अनादर) को गम्भीर मुद्दामा भने धरौटी नपाई हाल कारागार (जेल) चलान भएका छन्। ममता र शरणबीच यसअघि नै चेक अनादरको मुद्दा चलेको र अदालतले ममताको पक्षमा असुलउपर हुने फैसला गरिसकेको भए पनि सम्बन्ध र भविष्यको आशामा ममताले फैसला कार्यान्वयन गराएकी थिइनन्। जाहेरीको अन्तिम हिसाबमा सोही फैसलाबमोजिमको ब्याजबाहेक ३ लाख ५० हजार रुपैयाँ पनि जोडिएको छ।
जेल परेका महर्जनले अझै पनि “मैंने केही खाएको छैन, खाएको भए प्रमाण देखा” भन्दै पन्छिने प्रयास गरिरहेका छन्। नगदमै कारोबार गरिएकाले प्रमाण जुटाउन कठिन भए तापनि पीडितले फोटो, भिडियो, अडियो, ऋणका कागजात र अदालतको फैसलाको प्रतिलिपि पेस गर्दै सावाँ–ब्याजसहित बिगो असुलउपर र कडा कारबाहीको माग गरेकी छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।














