काठमाडौं । दक्षिण कोरियामा क्रिकेट खेल तथा खेलाडीहरूको उत्साह, प्रतिभा र खेलभावनालाई प्रोत्साहन गर्ने उद्देश्यले ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले ‘तराई बोल्टस’ क्रिकेट टोलीलाई ब्याट, बल, खेल पोसाकलगायतका खेल सामग्री सहयोग गरेको छ ।

ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा।लि।का सञ्चालक अजय कुशवाहाले तराई बोल्टसलाई आवश्यक खेल सामग्री उपलब्ध गराइएको जानकारी दिएका हुन् ।
शिक्षा र खेलकुद दुवै युवाको भविष्य निर्माणका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै संस्थाले खेलकुदमार्फत अनुशासन, एकता, नेतृत्व क्षमता र आपसी सद्भावको विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
युवाहरूमा रहेको खेल प्रतिभालाई उजागर गर्न, क्रिकेटको विकासमा योगदान पुर्याउन तथा नेपाली समुदायबीच आपसी एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग गरिएको संस्थाले जनाएको छ ।
खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिलोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगले तराई बोल्टसको खेल यात्रामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
















