काठमाडौं । यमनको शबवा प्रान्तको जारदान जिल्लास्थित अल–इल्म सैन्य क्याम्पमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको रोयटर्सले जनाएको बछ ।

यमनी सरकारी सेनाको सैन्य क्याम्पलक्षित उक्त आक्रमणमा परी मृत्यु र घाइते गरी कम्तीमा ४० जना हताहत भएका प्रान्तीय उपराज्यपाललाई उद्धृत गर्दै अलजजिराले समाचार प्रकाशन गरेको छ ।
यो घटनाले इरान समर्थित हुथी विद्रोही समूह र यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारबीच बढ्दो तनावलाई पुनः उजागर गरेको छ । पछिल्ला दिनमा हुथीहरूले विभिन्न क्षेत्रमा रहेका सरकारी सैन्य अड्डा तथा बंकरलक्षित क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेका छन् । यसले यमनमा जारी द्वन्द्व थप उग्र बन्न सक्ने चिन्ता बढाएको छ ।
केही विश्लेषकले पछिल्ला घटनाक्रमले हुथी विद्रोहीले थप भूभाग कब्जा गर्ने र सम्भावित रूपमा एडेन सहरतर्फ अघि बढ्ने जोखिम बढाउन सक्ने बताएका छन् ।
















