काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।

आज राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ भने कोसी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मंगलबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । राति गण्डकीको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै, बुधबार दिउँसो हिमाली भू-भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । राति कोसी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
















