काठमाडौं । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। यो जितसँगै नेपालले लिग-२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको छ।

सोमबार अल अमारात क्रिकेट ग्राउन्ड (टर्फ १) मा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ र हम्माद मिर्जाले ८७ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन्। ३२ रनमै पहिलो विकेट गुमाएको ओमानका लागि यी दुई ब्याटरले दोस्रो विकेटका लागि १५८ रनको बलियो साझेदारी गरेका थिए।
१९० रनको स्थितिमा दोस्रो विकेट लिएपछि नेपालले खेलमा पुनरागमन गर्यो। त्यसपछि मात्र १३ रन जोड्दा ओमानले अर्को विकेट गुमायो। २०३ रनमा तेस्रो र २०६ रनमा चौथो विकेट गुमाएको ओमान कप्तान विनायक शुक्ला आउट हुँदा २२४-५ को स्थितिमा पुगेको थियो। लगत्तै सन्जु सजिव रनआउट भएपछि ओमान २३२-६ को कठिन अवस्थामा पुग्यो।
त्यसपछि मैदान प्रवेश गरेका हस्नैन शाहले आक्रामक बाउन्ड्री प्रहार गर्दै ओमानको जितको आशा जीवितै राखेका थिए। उनी २३ बलमा ४० रन बनाएर अविजित रहे पनि टोलीलाई जित दिलाउन भने पर्याप्त भएन।
अन्तिम ओभरमा जितका लागि २३ रन आवश्यक हुँदा नेपालका दीपेन्द्रसिंह ऐरी बलिङमा आएका थिए। पहिलो बलमा हस्नैनले २ रन जोडे भने त्यसपछिका लगातार दुई बलमा चौका प्रहार गरेपछि ३ बलमा १३ रन चाहिने भयो। चौथो बलमा २ रन बनेपछि २ बलमा ११ रनको स्थिति बन्यो। तर, दीपेन्द्रले पाँचौँ बल डट फाले र अन्तिम बलमा पनि हस्नैनले रन बनाउन नसकेपछि नेपाल १० रनले विजयी भयो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालका लागि देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले।
कप्तान रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६९ रन जोडे। ओपनिङ ब्याटर देवले ६५ बलमा ४ चौका र १ छक्कासहित ५७ रनको योगदान दिए।
९९ रनमा ३ विकेट गुमाएको स्थितिमा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको उत्कृष्ट साझेदारी गरेका थिए। तर, २३८-३ को बलियो स्थितिमा रहेको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदै २८० रनमै अलआउट हुन पुग्यो।
नेपालको फिनिसिङ अपेक्षाकृत हुन नसके पनि तल्लो क्रममा बसिर अहमदले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै द्रुत १७ रन जोडेका थिए। ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए। यस्तै जय ओडेराले ३ र समय श्रीवास्तवले २ विकेट हात पारे। लिग-२ को अंकतालिकामा शीर्ष ६ भित्र रहनका लागि नेपाललाई यो अन्तिम खेल जित्नैपर्ने दबाब थियो।
श्रृंखलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा भने क्यानडासँग पराजित भएको थियो। नेपाललाई हराएपछि क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो। तर, ओमानमाथि पुन: जित निकाल्दै नेपालले ३६ खेलबाट ३० अंक जोडेर फेरि छैटौँ स्थान हात पारेको हो।
लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीको एकदिवसीय मान्यता जोगिने उच्च सम्भावना रहने भएकाले नेपालका लागि यो जित र छैटौँ स्थान निकै महत्त्वपूर्ण मानिएको छ।
















