एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई विश्वकपमा निजी लगानी भित्र्याउने असफल योजना र अन्य शासकीय विषयसँग सम्बन्धित कागजात सार्वजनिक गर्न युरोपेली फुटबल महासङ्घ युईएफएले दबाब दिएको छ ।

युईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग सम्बन्धित विभिन्न विषयमा ४२ वटा प्रश्न उठाउँदै आउँदो नोभेम्बर २ अर्थात् कात्तिक १६ गतेसम्म जवाफ दिन समय सीमा तोकेको हो । गएको जुलाईमा इन्फान्टिनोले विश्वकपमा निजी लगानीकर्ताको हिस्सा बिक्री गरेर ४ अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना अघि सारेका थिए ।
युरोपेली फुटबल अधिकारीहरूको चर्को विरोधपछि यो योजना फिर्ता लिइएको थियो । तर, योजना कसरी अघि बढाइयो र फिफाको परिषद्लाई किन समयमै सहभागी गराइएन भन्ने विषयमा पर्याप्त स्पष्टीकरण नआएको युईएफएको भनाइ छ । युईएफएले माग गरेका कागजात र जवाफमा फिफा अध्यक्ष इन्फान्टिनोको पारिश्रमिक, गायक मार्क एन्थोनीलाई गरिएको आर्थिक भुक्तानी, अमेरिकी फुटबल खेलाडी फोलारिन बालोगुन माथिको अनुसन्धानात्मक कारबाही तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको परिवारसँग सम्बन्धित व्यावसायिक एवं राजनीतिक सम्बन्धका विषय पनि समेटिएका छन् ।
त्यसैगरी, फिफाका न्यायिक, निर्वाचन तथा नैतिकता समितिहरूको स्वतन्त्रताबारे पनि युईएफएले प्रश्न उठाएको छ । इन्फान्टिनोले यसअघि फिफा परिषद्को बैठकमा माफी माग्दै आफ्नो धारणा प्रस्तुत गरे पनि त्यसले मुख्य प्रश्नहरूको जवाफ दिन नसकेको युईएफएको निष्कर्ष छ । युईएफएका महासचिव थिओडोर थिओडोरिडिसले हस्ताक्षर गरेको पत्रमा निर्णय प्रक्रिया, पारदर्शिता र जवाफदेहिताबारे स्पष्ट जानकारी माग गरेको छ ।
यसैबीच, युईएफएले रोकिएको लगानी योजनासँग सम्बन्धित कागजात र शपथपूर्वक दिइने बयान प्राप्त गर्न अमेरिकी संघीय अदालतसमक्ष कानुनी प्रक्रिया अघि बढाउन पनि अनुरोध गरेको छ । फिफाका कानुन व्यवसायीहरूले भने युईएफएले इन्फान्टिनोलाई अनावश्यक दबाब दिइरहेको आरोप लगाएका छन् ।
अर्को वर्ष मार्च १८ मा हुने फिफा अध्यक्षको चुनावका लागि उम्मेदवारी मनोनयनको समय सीमा नजिकिँदै गर्दा युईएफाले जवाफ माग गरेको हो । विश्व फुटबलको नेतृत्व, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहितालाई लिएर फिफा र युईएफाबीचको विवाद थप चर्किएको छ ।















