काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरेको छ । लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।

क्यानका अनुसार इलिमिनेटर र फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ ।















