Logo
Logo

वेस्ट इन्डिजका शेरफन रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने


126
Shares

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन् । उनी मध्यक्रममा ब्याटिङ गर्दै छिटो रन बनाउन सक्ने क्षमता राख्छन् ।

रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी-२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो ।

सबैखाले टी-२० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन् । उनले यस प्रारूपमा ३२४ छक्का प्रहार गरेका छन् । उनको टी-२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ ।

रदरफोर्डले सन् २०१८ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट टी-२० क्रिकेटमा पदार्पण गरेका थिए । त्यसै वर्ष उनले वेस्ट इन्डिजका लागि टी-२० अन्तर्राष्ट्रिय खेल्न थाले । सन् २०२३ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पदार्पण गरेका उनले दोस्रो खेलमै ६३ रन बनाएका थिए ।

फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले सीपीएल, इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बङ्गलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी-२० र मेजर लिग क्रिकेट खेलेका छन् । उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने सन् २०२०-२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए ।

आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए । त्यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए । मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग उपाधि जिते पनि ती सिजनमा उनले खेल्ने अवसर पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्