Logo
Logo

इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद


315
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली रक्षा बल (आइडिएफ) का प्रमुख जनरल इयाल जमीरबीच इरानमाथि सम्भावित सैन्य कारबाहीलाई लिएर मतभेद भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । च्यानल १२ का अनुसार जमीरले सैन्य कारबाही अघि बढाउनुअघि थप छलफल गर्नुपर्ने र त्यसको कानूनी अधिकार स्पष्ट हुनुपर्ने माग गरेका छन् । यद्यपि, विवादित निर्देशनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

मङ्गलबार हुने निर्वाचनअघि सार्वजनिक भएको यो खबरले इजरायलको राजनीतिक नेतृत्व र सेनाबीचको सम्बन्धबारे प्रश्न उठाएको छ । नेतान्याहुले आरोपलाई ‘मूर्खतापूर्ण’ भनेका छन् । यसअघि उनले इरानको शासन अपदस्थ गर्न आइडिएफ र मोसादलाई निर्देशन दिएको बताएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नेतान्याहुलाई समर्थन गर्दै इजरायली जनतालाई उनकै पक्षमा मतदान गर्न आग्रह गरेका छन् । ट्रम्पले इरानको सैन्य क्षमता र अर्थतन्त्र कमजोर भएको दाबी गर्दै आफूहरूले सुरु गरेको काम पूरा गर्न नेतान्याहुलाई पुनः प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । 

निर्वाचनको दुई दिनअघि नेतान्याहुले तेल अभिवमा आणविक विस्फोट भएको देखाउने कृत्रिम बौद्धिकता (एआई) बाट तयार तस्बिर सार्वजनिक गर्दै आफूलाई मतदान नगरे इजरायलीहरू ‘दोस्रो होलोकास्ट’ को जोखिममा पर्न सक्ने चेतावनी दिएका थिए । उनले इरानले आणविक हतियार प्राप्त गरे इजरायलको अस्तित्वमै खतरा उत्पन्न हुने दाबी गरेका छन् ।

निर्वाचनपूर्वका अन्तिम सर्वेक्षणले वर्तमान सत्तारूढ गठबन्धन वा विपक्षी समूह कुनैले पनि सरकार गठन गर्न आवश्यक समर्थन जुटाउन नसक्ने देखाएका छन् । यसले निर्वाचनपछि पनि इजरायलमा राजनीतिक गतिरोध कायम रहने सम्भावना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्