
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताइन् ।
उनले भनेकी छन्, ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई हार्दिक शुभकामना ! मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।’
साथै, सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्ने उदाहरण एनपीएल बनेको बताएकी छिन् ।
‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ,’ मन्त्री गौतमले भनेकी छिन् ।















