
काठमाडौँ । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। तीमध्ये प्रतिनिधि सभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा ३÷३ वटा विधेयक विचाराधीन छन्।
त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २÷२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन्। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको एउटा विधेयक रहेको छ। राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको प्रवक्ता गिरीले बताए।
प्रतिनिधि सभाका समितिमा विचाराधीन विधेयकहरूमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक लगायत रहेका छन्।
प्रवक्ता गिरीले भने, ‘हाल संघीय संसद्मा ३६ वटा विधेयकहरू विचाराधीन अवस्थामा छन्। त्यसमध्ये प्रतिनिधि सभाका समितिहरूमा २४ वटा विधेयकहरू विचाराधीन छन्। खासगरी अर्थसम्बन्धी केही कानुनलाई संशोधन र खारेज गर्ने ऐनसँग सम्बन्धित विधेयक, राहदानी पहिलो संशोधन विधेयक, भुक्तानी फछ्र्यौट, फोहोरमैला व्यवस्थापन लगायतका विभिन्न २४ वटा विधेयकहरू प्रतिनिधि सभाका समितिहरूमा विचाराधीन रहेका छन् भने राष्ट्रिय सभाका समितिमा कुनै पनि विधेयक विचाराधीन छैनन्। तर राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकको सन्देश प्रस्तुत हुन बाँकी छ।’
संसद्मा नयाँ विधेयक दर्ताको सङ्ख्या सात पुगेको छ। अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए।
संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए। संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन्।
त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए। उनका अनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुई वटा विधेयक रहेका छन्। संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ।
नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए। उनका अनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको सङ्ख्या १२ रहेको छ। यस्तै संसद्बाट ६ वटा सन्धि तथा महासन्धिसमेत पेस भएर पारित भइसकेका छन्।
समितिमा विचाराधीन विधेयकहरूमाथि दसैँको बिदापछि अब छलफल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ। दसैँ बिदाअघि समितिमा कतिपय विधेयकहरूको दफावार छलफल भइरहेको थियो भने केही विधेयकहरूको सैद्धान्तिक छलफल सुरु गरिएको थियो। बिदापछि समितिमा विधेयकलाई टुङ्गोमा पु¥याउने गरी छलफल अगाडि बढाउने तयारी गरिएको छ।















