
काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लेदोसहितको पहिरो खस्दा हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १०ः३० बजेको समयमा इन्द्र सरोवर गाउँपालिका–३ स्थित सिस्नेरी पेट्रोल पम्प नजिकै सडक माथिबाट लेदोसहितको पहिरो खसेको हो ।
पहिरोका कारण उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउनका लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी जेसीबी प्रयोग गरेर पहिरो पन्छाउने कार्यको तयारी भइरहेको छ ।
बाटो पूर्ण रूपमा अवरुद्ध भएकाले काठमाडौँ–हेटौँडा आउजाउ गर्ने सवारी साधन तथा यात्रुहरू बाटोमै रोकिएका छन् । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।















