Logo
Logo

बारामा गोली चल्यो, एक युवक घाइते


378
Shares

काठमाडौं । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर फेटा गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय छोरा आदित पासवान रहेका छन् ।

यद्यपी, प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि भने गरेको छैन । इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताए ।

बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा विवाद सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।

तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य संस्था उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्