Logo
Logo

समाचार कक्षमा प्रहरी पुग्नु प्रेस स्वतन्त्रतामाथिको हमला हो : भीष्मराज आङदेम्बे


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप हुनु आपत्तिजनक रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: visma.jpg

उनले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने, समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई त्रसित बनाउने र कार्यस्थलबाट कर्मचारीलाई धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् । उनले यस्ता गतिविधिलाई राज्यशक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको हमला भएको बताएका छन् ।

अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरण तथा उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउने विषयमा समाचार सार्वजनिक भएपछि पत्रकारमाथि धरपकड भएको उनको भनाइ छ । केही पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको र केहीलाई साइबर ब्युरोमा बोलाइएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

आङदेम्बेले पत्रकार पक्राउ प्रधानमन्त्री कार्यालयकै दबाबमा भएको प्रहरी अधिकारीले बताएको दाबीसमेत गरेका छन् । यस्ता घटनाबारे प्रधानमन्त्रीको सचिवालय र गृह प्रशासन बेखबर देखिनु तथा प्रहरीबाट स्पष्ट जवाफ नआउनुले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको उनले उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्रीसहित राज्यका सबै निकायलाई कानुनअनुसार काम गर्न र स्थापित अनुसन्धान निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरेका छन् । संविधान प्रदत्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी शासनको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि भएका धरपकड र अनधिकृत हस्तक्षेपको विरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्