Logo
Logo

कोप–३१ मा भाग लिन परराष्ट्रमन्त्री भोलि टर्कीए जाँदै


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार टर्कीए जाने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीए जाने भएका हुन् ।

टर्कीएको आन्ताल्यामा यही नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३ गते) मा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी उनले नोभेम्बर ११ र १२ तारिख (कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सञ्जय आचार्य, कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रसहित नौ जना अधिकारीहरू सरकारी टोलीमा सहभागी हुनेछन । परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ तारिख (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000