
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरेका छन् ।
शुक्रवार चितवनमा आफ्नो धारणा राख्दै उनले अदालतका विषयमा सुनेका भरमा वा लेखेका आधारमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयता कमजोर हुने बताए । उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेशागत संगठन र प्रेसलगायतका संस्थाहरू कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने उल्लेख गरे ।
लामिछानेले कमजोर लोकतन्त्रले ठूला कुरा गर्नसक्ने भएपनि प्रभावकारी काम गर्न नसक्ने टिप्पणी गरे । अभिव्यक्ति, क्रियाकलाप र निर्णयमार्फत लोकतन्त्रको महत्वपूर्ण स्तम्भलाई कमजोर बनाउने काम गर्न नहुने उनको भनाइ छ ।
राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिँदै उनले प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप बलियो बनाउनुपर्ने बताए । सीआईबी बलियो भए पद र हैसियतमा बसेका व्यक्तिलाई समेत अनुसन्धानको दायरामा ल्याउन सकिने उनको भनाइ छ ।
भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि कमजोर अनुसन्धानका कारण अदालतबाट छुट्ने अवस्था आउन नहुने भन्दै उनले अनुसन्धानलाई प्रमाणमुखी र बलियो बनाउनुपर्ने बताए ।
लामिछानेले भने, ‘अदालतलगायत राज्यका संस्थाहरूका बारेमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा ती संस्थाहरू कमजोर हुन्छन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेशागत संगठन र वैदेशिक सम्बन्धजस्ता राज्यका सबै आधारस्तम्भ कमजोर भएमा अन्ततः देश र लोकतन्त्र नै कमजोर हुन्छ । हाम्रा अभिव्यक्ति, गतिविधि र निर्णयले लोकतन्त्रका आधारस्तम्भहरूलाई कमजोर बनाउनु हुँदैन । राज्यका संस्थाहरूलाई स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्ने वातावरण दिनुपर्छ । प्रहरी र सीआईबीजस्ता अनुसन्धान निकायलाई यति सक्षम बनाउनुपर्छ कि पद वा प्रतिष्ठाको प्रभावबिना जोसुकै व्यक्तिमाथि पनि निष्पक्ष अनुसन्धान हुन सकोस् । अनुसन्धान यति तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्छ कि भ्रष्टाचारमा संलग्न व्यक्तिले कानूनी प्रक्रियाबाट उन्मुक्ति पाउने अवस्था नआओस् । त्यसैले हामीले खोजेको अनुसन्धान प्रणाली भनेको निष्पक्ष, सशक्त र प्रमाणमा आधारित अनुसन्धान प्रणाली हो ।’
राज्यका अनुसन्धान गर्ने निकाय सक्षम र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै लामिछानेले आफूहरूले खोजेको संस्थागत सुधार त्यही भएको बताए ।


















