काठमाडौं । एउटा बालक । उमेर थियो– जम्मा ११ वर्ष । सपना थियो– फुटबलर बन्ने । तर, त्यो सपना पूरा गर्न उनले रोजेको बाटो सजिलो थिएन । आमाको काख छाड्नुपर्ने, बुबाको साथ छाड्नुपर्ने । साथीभाइ र आफन्त छाडेर हजारौँ किलोमिटर टाढा एक्लै संघर्ष गर्नुपर्ने । न भाषा आउथ्यो, न चिनेका साथीभाइ नै थिए । न कोही आफ्नो थियो, न मनको कुरा सुनिदिने मान्छे । साथमा थियो त केवल एउटा अठोट– एक दिन विश्व फुटबलमा आफ्नो नाम लेखाउने !
उनको फुटबल यात्रा एन्डोरिन्हा क्लबबाट सुरु भयो । त्यसपछि नेसियोनाल हुँदै स्पोर्टिङ लिस्बनको एकेडेमीसम्म पुग्यो । १२ वर्षको उमेरमा स्पोर्टिङको अवसर पाएपछि उनले मडेइरा छाडे। यही निर्णय उनको जीवनको सबैभन्दा कठिन मोड बन्यो ।
१२ वर्षको बालक, आफ्ना आमाबुबाबाट टाढा । नयाँ सहरमा एक्लै । प्रशिक्षण, पढाइ र नयाँ वातावरणसँग जुध्नुपर्ने । साथीहरूले उनको मडेइराको लवजको मजाक उडाउँथे । कतिपयले जिस्क्याउँथे । घरको यादले सताउँथ्यो । फुटबल छाडेर घर फर्किने सोचसमेत बनाएका थिए । तर, परिवारले दिएको हौसला र आफ्नो सपनाले उनलाई रोक्यो ।
त्यसमाथि १५ वर्षको उमेरमा मुटुको धड्कन असामान्य हुने समस्या देखियो । करियर सुरु हुनुअघि नै फुटबलबाट टाढिनुपर्ने जोखिम थियो । शल्यक्रिया गर्नुप¥यो । तर, उपचारपछि उनी फेरि प्रशिक्षणमा फर्किए । उनी आफ्नो सपना जोगाउन जस्तोसुकै चुनौतीसँग भिड्न तयार थिए ।
सन् २००२ मा स्पोर्टिङको सिनियर टोलीबाट व्यावसायिक फुटबल सुरु गरेका रोनाल्डोको जीवनले त्यसको एक वर्षपछि ठूलो फड्को मा¥यो । म्यानचेस्टर युनाइटेडसँगको मैत्रीपूर्ण खेलमा उनको प्रदर्शन देखेपछि प्रशिक्षक सर एलेक्स फर्गुसन प्रभावित भए । त्यसपछि १८ वर्षकै उमेरमा रोनाल्डो म्यानचेस्टर युनाइटेड पुगे ।
तर, त्यहाँ पुग्नु नै सफलता थिएन । आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती थियो । सुरुमा उनको खेलमा सीप थियो, गति थियो, तर निर्णय क्षमता र शारीरिक परिपक्वतामा सुधार आवश्यक थियो । फर्गुसनको प्रशिक्षणमा उनले आफ्नो खेललाई निखार्दै लगे । ७ नम्बरको जर्सी पाएपछि त्यही नम्बर उनको पहिचान बन्यो । सन् २००८ मा पहिलोपटक बालोन डी’ओर जिते । त्यसपछि रियल मड्रिड पुगे । त्यहाँ उनले गोलको वर्षा नै गरे । चारपटक च्याम्पियन्स लिग जिते । क्लबका लागि ४५० गोल गरे । पाँचपटक बालोन डी’ओर जित्ने खेलाडी बने ।
रियलपछि युभेन्टस, फेरि म्यानचेस्टर युनाइटेड र सन् २०२३ देखि साउदी अरबको अल नासर पुगे । क्लब फेरिए, प्रशिक्षक फेरिए, सहकर्मी फेरिए । तर, रोनाल्डोको लक्ष्य फेरिएन– जित्ने, गोल गर्ने र आफूलाई अझ राम्रो बनाउने । उनको सफलताको अर्को ठूलो आधार हो, अनुशासन । मैदानबाहिरको जीवनशैलीदेखि प्रशिक्षणसम्म उनी उत्तिकै गम्भीर रहे । शरीरलाई फिट राख्ने, खानपानमा ध्यान दिने र उमेर बढ्दै जाँदा पनि आफ्नो खेललाई प्रतिस्पर्धात्मक बनाइराख्ने उनको बानीले उनलाई अरू खेलाडीभन्दा अलग बनायो ।
तर, क्लब फुटबलमा सफलता पाइरहँदा राष्ट्रिय टोलीको यात्रा पनि त्यत्तिकै महत्वपूर्ण थियो । अगस्ट २००३ मा काजाकस्तानविरुद्ध पोर्चुगलको जर्सीमा डेब्यु गरेका रोनाल्डोले २३ वर्षसम्म देशको प्रतिनिधित्व गरे । सुरुवातमा उनी टोलीका युवा खेलाडी थिए । पछि कप्तान बने । अनि पोर्चुगलको सबैभन्दा ठूलो आशा र भरोसा पनि ।
सन् २००४ को युरोपियन च्याम्पियनसिपमा घरेलु मैदानमै फाइनल पुगेको पोर्चुगल ग्रिससँग पराजित भयो । सन् २००६ मा टोली विश्वकपको सेमिफाइनलसम्म पुग्यो । तर, उपाधि हात लागेन । त्यसपछि पनि युरो र विश्वकपका अनेकौँ प्रतियोगिता खेले । अन्ततः सन् २०१६ मा फ्रान्सविरुद्धको फाइनलमा चोटका कारण सुरुमै मैदान छाड्नुपरे पनि पोर्चुगलले उपाधि जित्यो । रोनाल्डोका लागि त्यो केवल ट्रफी थिएन, वर्षौँदेखिको प्रतीक्षाको अन्त्य थियो ।
त्यसपछि सन् २०१९ र २०२५ मा नेसन्स लिग जित्दै उनले राष्ट्रिय टोलीलाई थप सफलता दिलाए । पोर्चुगललाई पहिलो युरोपियन च्याम्पियन बनाउनेदेखि लगातार उपाधि दिलाउने यात्रामा उनको योगदान अविस्मरणीय रह्यो । तर, यति धेरै सफलता हात पार्दा पनि रोनाल्डोको अन्तर्राष्ट्रिय करियरमा एउटा खाली ठाउँ सधैँ रह्यो । त्यो हो– विश्वकपको उपाधि ।
सन् २०२२ मा कतारमा मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउँदा फुटबलको बहसले नयाँ मोड लियो । मेसीले विश्वकप उचाले । रोनाल्डोले भने त्यो ट्रफी कहिल्यै छुन पाएनन् । यही तुलना उनको करियरको सबैभन्दा ठूलो बहस बनिरह्यो । कसैले मेसीलाई महान् भने, कसैले रोनाल्डोलाई । तर, यी दुईबीचको प्रतिस्पर्धाले विश्व फुटबललाई एउटा स्वर्णिम युग दियो ।
रोनाल्डोका लागि २०२६ को विश्वकप अन्तिम अवसर थियो । उनी छैटौँपटक विश्वकप खेल्दै थिए । यसअघि नै उनी लगातार पाँच संस्करणमा गोल गर्ने कीर्तिमान बनाइसकेका थिए । २०२६ मा पनि गोल गर्दै विश्वकपका लगातार छवटै संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । तर, पोर्चुगलको यात्रा अन्तिम १६ मै रोकियो । स्पेनसँग १–० ले पराजित भएपछि उनको विश्वकप यात्रामा पूर्णविराम लाग्यो ।
जुन प्रतियोगिता जित्ने सपना बोकेर उनी वर्षौँदेखि मैदानमा उत्रिएका थिए, त्यही प्रतियोगिताबाट निराश हुँदै बाहिरिनुप¥यो । न फाइनल खेल्न पाए, न ट्रफी उचाल्न । विश्वकपको मैदानमा उनको अन्तिम दृश्य उपाधि उचालेको होइन, हारको पीडा बोकेको बन्यो ।
विश्वकपपछि पनि राष्ट्रिय टोलीसँगको उनको सम्बन्ध सहज रहेन । प्रशिक्षक जोर्जे जेसुससँग खेल्ने समय र टोलीभित्रको भूमिकालाई लिएर असमझदारी बढ्यो । सेप्टेम्बरमा राष्ट्रिय टोलीको क्याम्प छाडेर फर्किएपछि विवाद झन् चर्कियो । त्यस घटनामा उनले आफ्नो व्यवहारप्रति माफीसमेत मागे । अनुशासनात्मक कारबाही र ३० दिनको निलम्बन पनि भोग्नुप¥यो । एकातिर मैदानमा दशकौँसम्म देशको झन्डा बोकेका कप्तान, अर्कोतिर प्रशिक्षकसँगको विवाद । उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम अध्याय केही असहज बन्यो ।
अन्ततः रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका छन् । २३ वर्ष लामो यात्रालाई उनले आफैँ पूर्णविराम लगाएका छन् । उनले राष्ट्रिय टोलीको सात नम्बरको जर्सी अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । यो निर्णय सजिलो नभएको पनि बताएका छन् । किनकि उनका लागि पोर्चुगलको जर्सी केवल खेल पोसाक थिएन। त्यो देश, परिवार, पहिचान र जीवनभरको गौरव थियो ।
आँकडाले पनि उनको योगदान आफैँ बोल्छ । पोर्चुगलका लागि २३४ खेल । १४६ गोल । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र सर्वाधिक गोलको कीर्तिमान । छवटा विश्वकप खेल्ने र छवटै संस्करणमा गोल गर्ने पहिलो खेलाडी । युरो २०१६, नेसन्स लिग २०१९ र २०२५ का उपाधि । यी सबै पोर्चुगललाई दिलाउन उनको महत्वपूर्ण योगदान रह्यो ।
राष्ट्रिय टोलीबाट सन्न्यास लिनु भनेको फुटबलबाटै बिदा हुनु होइन । रोनाल्डो अझै क्लब फुटबलमा सक्रिय छन् । साउदी अरबको अल नासरबाट खेलिरहेका छन् । उनको अर्को ठूलो व्यक्तिगत लक्ष्य हो– करियरका एक हजार आधिकारिक गोल पूरा गर्ने । उनले आफ्नो गोल संख्या ९८५ पु¥याएका थिए । अब हजार गोलको ऐतिहासिक आँकडा छुन उनलाई १५ गोल मात्रै आवश्यक छ ।
यसरी हेर्दा रोनाल्डोको जीवनमा दुईवटा सपना अधुरा छन् । एउटा, विश्वकपको ट्रफी उचाल्ने सपना । अर्को, राष्ट्रिय टोलीबाट आफ्नै छोरासँग खेल्ने चाहना । उनले चाहेको जस्तो अन्त्य पाएनन्। तर, इतिहास सधैँ सुखद अन्त्यबाट मात्रै लेखिँदैन ।
मडेइराको एउटा सामान्य परिवारबाट निस्किएको बालकले विश्व फुटबलको शिखर चुम्नु आफैँमा एउटा इतिहास हो । बाल्यकालमा घर छाडेर रोएको त्यो बालकले एक दिन देशको कप्तानी ग¥यो । लाखौँ दर्शकका अगाडि गोल गरेर देशलाई खुसी दियो । आफूलाई मन नपराउनेहरूलाई पनि आफ्नो खेल हेर्न बाध्य बनायो ।
उनको करियरले अर्को एउटा कुरा पनि सिकाउँछ । प्रतिभा भएर मात्रै पुग्दैन । प्रतिभालाई सफलतामा बदल्न अनुशासन, मेहनत र हार नमान्ने अठोट चाहिन्छ । रोनाल्डोले आफ्नो शरीरलाई हतियार बनाए । उमेरलाई चुनौती दिए । हरेक असफलतापछि फेरि उठे । यही कारण उनी केवल गोल गर्ने खेलाडीमा सीमित रहेनन्, मेहनत र आत्मविश्वासको प्रतीक बने ।
आज पोर्चुगलको जर्सीमा उनको परिचित सात नम्बर देखिने छैन । गोल गरेपछि मैदानमा गुञ्जिने ‘सिउ’ राष्ट्रिय टोलीका लागि सम्झना बन्नेछ । विश्वकपको ट्रफी उनको हातमा परेन । तर, फुटबलको इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिइसकेको छ । सबै सपना पूरा गरेर मात्रै महान् बनिँदैन भन्ने कुरा रोनाल्डोले प्रमाणित गरेका छन् । कहिलेकाहीँ अधुरो सपनाले पनि मानिसलाई इतिहासको सबैभन्दा अग्लो शिखरमा पु¥याउँछ ।
एउटा ११ वर्षे बालकले देखेको सपना पूरा भयो । तर, उसले देखेको सबै सपना पूरा भएनन् । सायद यही नै रोनाल्डोको कथाको सबैभन्दा सुन्दर र पीडादायी पक्ष हो। राष्ट्रिय टोलीको यात्रा सकियो । तर, एक हजार गोलको दौड अझै बाँकी छ ।


















