काठमाडौं । यसवर्ष तिहारको लक्ष्मीपूजाका दिन भोलि बेलुका विद्युतको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान गरिएको छ ।

यो माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । त्यस अवधिमा विद्युत उत्पादन झण्डै २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ ।
उनले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत आपूर्ति सहज बनाउन पर्याप्त विद्युत उपलब्ध हुने बताए । पर्व अवधिभर विद्युतको माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ ।
प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न तथा विद्युत चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।


















