Logo
Logo

मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन


0
Shares

काठमाडौं । धानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: balen-1.jpg

आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उनले उल्लेख गरेका छन् ।

“आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्हः पूजा’ को मर्म अति गहिरो छस ‘म्हः’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ”, उनले उल्लेख गरेका छन् ।

यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको  र यो हाम्रा लागि गौरवको विषय भएको उनको भनाइ छ ।

आजैका दिन भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

“त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ”, उनले भनेका छन्, “हाम्रा यी मौलिक चाडपर्वले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् ।”

प्रधानमन्त्री शाहले पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना पनि व्यक्त गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000