
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आज बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकैको जस्ताको ट्रसमा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
त्यस घटनाबारे बिहान हिँड्न निस्किएका एक व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए ।


















