Logo
Logo

रङ्गशाला स्तरोन्नतिका लागि श्रीमद्भागवत हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । गोलढुङ्गा खेलकुद समाजले खेलकुद रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तर उन्नतिका लागि आयोजना गर्न लागिएको हो ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ आयोजक समितिले उक्त रङ्गशालाको स्तरोन्नतीका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष राजेन्द्र अर्यालले गोलढुङ्गामा रहेको उक्त फुटवल रङ्गशाला प्रकृतिक रुपमा नै प्याराफिट सहितको रहेको र सरकारले अलिकति पनि आँखा लगाए मात्र पनि उक्त रङ्गशाला अन्तराष्ट्रिय स्तरको फुटवल रङगशाला बन्ने दावि गरे । उनले भने, ‘यस संस्थाका संस्थापक अध्यक्ष स्वः सुदर्शन आचार्यको सम्मान र यस क्षेत्रको खेलकुद पर्यटन विकासको लागि रङ्गशाला निमार्ण अपरिहार्य छ ।’
समतिका अध्यक्ष अर्यालले महायज्ञबाट रंगशालाको न्यूनतम पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ संकलन गर्ने उद्देश्य रहेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै श्रीमदभागवत महायज्ञका प्रमुख वाचक पण्डित शिरमणि दिनबन्दु पोखरेलले हालसम्म आफूले सामाजिक कामको लागि ६ सय भन्दा बढि भागवत बाचन गरेको बताउँदै खेलकुदको विकासका लागि भने आफ्नो यो पहिलो महायज्ञ भएको बताए । आध्यात्मिक माध्ययमबाट समाजमा जागरण ल्याई वेद र बुद्धका गहन वाणी मार्फत समाज रुपान्तरणका लागि यस्ता महायज्ञ फलदायी हुने बताए ।
सम्मेलनमा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का संघीय सांसद रामविर मानन्धरले तयारी अवस्थामा रहेको यस रङ्गशालाको स्तर उन्नतिका लागि सरकारले खासै ध्यान नदिएको बताए । उनले भने, ‘सरकारले उक्त रङ्गशालामा थोरै ध्यान दिए मात्र पनि यो रङ्गशाला अन्तराष्ट्रिय स्तरको तालिम केन्द्रको रुपमा विस्तार गर्न सकिन्छ ।’ काठमाडौँमा यस्ता खालका खेलकुद मैदान कम भएको उल्लेख गर्दै सिंहदरबारबाट ६ किलोमिटर दुरीमा रहेको गोलढुङ्गामा रंगशाला निर्माण गरिएमा यस क्षेत्रको समग्र विकासमा नै टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्