Logo
Logo

देशभर १०७ जनप्रतिनिधिको पद रिक्त, उपनिर्वाचनबारे अन्योल


0
Shares

काठमाडौं । निर्वाचन आयोगले देशभरका विभिन्न तहमा १०७ जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ ।

कार्यकाल नसकिँदै जनप्रतिनिधिहरू राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि र केही पदको कार्यकाल सकिएका तथा निधन भएका कारण विभिन्न तहमा १०७ जनप्रतिनिधि पद खाली भएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हाल स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद खाली छन् ।

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, धुलिखेलका मेयर अशोक ब्यञ्जु, टीकापुरका मेयर रामलाल डगौरा र कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायतले पदबाट राजीनामा दिएका थिए ।

साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित भएपछि हाल धरानमा उपमेयर अइन्द्रविक्रम बेघाले कार्यवाहक चलाइरहेका छन्।

त्यस्तै, प्रदेशसभातर्फ मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीहरू सरोजकुमार यादव र सतिशकुमार सिंहका साथै सुनिल केसी, युवराज दुलाल, रहबर अन्सारी, कन्हैया बाँनिया, ताराप्रसाद जोशी, अमन मास्के, कृष्णध्वज खड्का र प्रकाशबहादुर शाह लगायतका सांसदहरूले राजीनामा दिएर संघको निर्वाचन लडेका थिए, जसमध्ये केही निर्वाचित भए पनि रिक्त प्रदेशसभा पदहरूको पूर्ति हुन सकेको छैन ।

यसैगरी राष्ट्रिय सभाका दुई सिट पनि रिक्त रहेका छन् । नेपाली कांग्रेसका तर्फबाट २०८० मा निर्वाचित सदस्य बलदेव बोहराको २०८२ पुस ३० गते निधन भएपछि माघ १ गतेदेखि एउटा सिट खाली छ भने अर्कोतर्फ सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको छ वर्षे कार्यकाल २०८२ फागुन २० मा सकिएपछि उक्त स्थानमा पनि नयाँ नियुक्ति हुन सकेको छैन।

कानुनी व्यवस्था अनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि छ महिना मात्र बाँकी रहेकाले त्यहाँ उपनिर्वाचन हुने सम्भावना सकिए पनि एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेको प्रदेशसभामा सरकार र आयोगले चाहेमा उपचुनाव गराउन सकिन्छ । राष्ट्रिय सभाको हकमा पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने स्पष्ट र बाध्यकारी कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन भएको छैन ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000