बागमती । सर्लाहीस्थित बागमती सिंचाई आयोजनका ज्यालादारी कर्मचारीहरू धर्नामा बसेका छन् ।
पाँच वटा माग अघि सार्दै कर्मचारीहरूले मंसिर १ गतेदेखि सिँचाइ कार्यालयको मुख्य गेटमा ताला लगाएर धर्ना थालेका हुन् ।
उमेर हद देखाएर ज्यालादारी कर्मचारीहरूलाई आयोजनाले हटाउने सुचना जारी गरेसँगै आन्दोलनमा उत्रिनुपरेको सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी युनियनका अध्यक्ष विनोदकुमार पासवानले बताए ।
उनका अनुसार आयोजनामा विभिन्न पदमा कार्यरत २४४ जना ज्यालादारी कर्मचारी कार्यरत छन् । जसमा प्राविधिकसहित ड्राइभर,माली,प्लम्बर र मेसिन अप्रेटरहरू धेरै छन् ।
आन्दोलित कर्मचारीले गत कात्तिक ११ गतेदेखि उमेर हद खारेजी, सिँचाइ नम्समा सुधार, चाडपर्व र पोशाकको व्यवस्था, महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा आवद्धताको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।


















