
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने नभई थप व्यवस्थित, समृद्ध र वैज्ञानिक बनाउने पक्षमा पार्टी रहेको उनको दाबी छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै महामन्त्री आचार्यले रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा पार्टीको अडान विगतमा पनि स्पष्ट रहेको र आगामी दिनमा समेत कायम रहने उनले बताए ।
पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै आचार्यले सञ्चार क्षेत्रको विकास र व्यावसायिक सुधारका लागि पार्टी प्रतिबद्ध रहेको धारणा राखे। पत्रकार महासंघले उठाएका माग तथा समस्यालाई गम्भीरतापूर्वक अध्ययन गरी समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासनसमेत उनले दिए ।
यसअघि पत्रकार महासंघ मोरङ शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएको थियो । महासंघले यस विषयमा रास्वपाको ध्यानाकर्षण गराउँदै प्रेस स्वतन्त्रताको संरक्षणका लागि स्पष्ट धारणा राख्न आग्रह गरेको हो।
त्यस्तै, सञ्चारमाध्यमका कार्यालयअगाडि अनधिकृत रूपमा सवारीसाधन तेस्र्याएर अवरोध सिर्जना गर्ने घटनामा संलग्नलाई कारबाही नगरेको भन्दै महासंघले सरकारको भूमिकामाथि प्रश्न उठाएको छ । यस्ता घटनामा दोषीमाथि कारबाही नहुँदा दण्डहीनताले प्रश्रय पाएको महासंघको आरोप छ ।
महासंघले उठाएका विषयमा प्रतिक्रिया दिँदै आचार्यले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारिता क्षेत्रका समस्या समाधानका लागि पार्टीले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।


















