Logo
Logo

अर्थतन्त्र उकास्न साढे ६ खर्ब आवश्यक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन रु साढे छ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न रु ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो ।

आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव एवं यसले पुर्‍याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति अघि सारी सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्वि समेटेको छ । अल्पकालीन राहत तथा पुनरुत्थानका लागि रु दुई खर्ब ३९ अर्ब, मध्यकालीनका लागि रु दुई खर्ब ८५ अर्ब र दीर्घकालीनका लागि रु एक खर्ब ३३ खर्ब स्रोत परिचालन गरिनुपर्ने हुन्छ । २ माघमा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बालुवाटारमा बसेको ४८औँ बैठकमा गत आव २०७६/७७ को वार्षिक र चालु आव २०७७/७८ को प्रथम चौमासिक अवधिको प्रमुख आर्थिक परिसूचक, खर्च र प्रगतिको समीक्षात्मक प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्