Logo
Logo

शौभाग्यको दुर्भाग्य ! ३० मिनेटमै ७० लाख स्वाहा


- दृष्टि न्युज/संवाददाता


गुल्मी, ७ माघ । पशुप्रेमीका लागि पशुको जति माया हुन्छ, त्यति नै पशुपालन गर्नेलाई पनि हुन्छ । आफ्नो सपना र मिहिनेतले हुर्काएका पशु मारिए भने त्यो भन्दा पीडादायी अरू के नै हुन्छ र ? जसरी जन्मदिनेलाई आफ्नो सन्तान त्यसरी नै पशुपालकलाई आफ्ना पशुको अनगिन्ती स्नेह हुन्छ ।


त्यसैले होला आफ्नो ज्यान जोखिममा राखेर भएपनि पशुलाई कुनै पनि हालतमा जोगाउने अन्तिम प्रयास गरिन्छ । यस्तै, प्रयास गर्दा पनि गुल्मीका शौभाग्य शाहले आफ्ना २५ बाख्रा जोगाउन सकेनन् । बाख्रा त खरानी भए नै सँगै उनका सपना पनि ! आफै पनि आधा जलेका शौभाग्यको जीवनमा थप दुर्भाग्य निम्त्यिो ।

किन कसैलाई कर्मले दिएर, भाग्यले ठेल्छ ? किन कसैका लागि दैव पनि दाहिना हुँदैनन् ? यि अनेक प्रश्न अहिले गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका २४ बर्षीय शौभाग्य शाहाको मनमा खेलिरहेको छ । आँखा अगाडी आफैले सन्तान झैं माया गरि हुर्काएका बाख्रा क्षणभरमै खरानी हुँदा दैवलाई धिक्कार्नु बाहेक के नै पो गर्न सकिन्छ र !

आगलागीले खोसेको एक युवा कृषकको सपना, न त पाए क्षतिपूर्ति न भेटिए अपराधी
‘खोरमा पेट्रोलको गन्ध आइरहेको थियो । कसैले षड्यन्त्रपूर्ण ढंगले आगो लगायो’

खोर जलेर खरानी भएको छ । शौभाग्य थामिएका त छन् । तर, आँशु जुनसुकै बेला फेरि बग्न सक्छ । त्यही गोठ जोगाउन खोज्दा उनको हात र अनुहारमा चोट लाग्यो । बाख्रा जलेर खरानी भए । शौभाग्यको जीवनमा भएको दुर्भाग्य पहिलो पटक होइन । स्वदेशमै केही गर्ने लक्ष्य लिएर अघि बढेका शौभाग्यले यसअघि माछा र कुखुरा पालन गरे । तर, गोठ जले जस्तै शौभाग्यको जीवनमा दुर्भाग्यले पिछा गरिरह्यो । एकैरातमा तीन हजार माछा मरे ।

कुखुराको पनि ताल उस्तै भयो । तर, विचलित भएनन् । भगवानले नै तँ आँट म पुर्याउँछु भन्छन् भन्ने सोचेका उनले त्यसपछि बाख्रा पालन गरे । पुराना दुःख बिर्सिएर नयाँ शुखको परिकल्पना गरेका शौभाग्यलाई त्यो शौभाग्य अहिले पनि जुरेन । यो समयमा उनी आफूले गरेको संघर्ष भक्कानिँदै सम्झिरहेका छन् ।


शाहाले फार्मसहित राजस्थानी, बोयर र जमुना पारीका उन्न्त जातका बाख्रा गरेर ७० लाख खर्च गरिसकेका थिए । तर, रातको ९ बजे खोरमा बाख्रा चिच्याएको सुनेर बाहिर निस्कँदा खोर जलिसकेको थियो । शौभाग्य खासमा चन्द्रकोट गाउँपालिका हर्राचौरका ३ नम्बर वडाका अध्यक्ष किरण शाहका छोरा हुन् ।


शाह गाउँभरी कृषि कर्म गर्न हौँसाउँदै हिड्ने जनप्रतिनिधि हुन् । तर, उनी आफै अहिले सम्हालिन सकेका छैनन् ।
आगलागी कसरी भयो कसैलाई थाहा छैन । तर, यो अचानक नभई षड्यन्त्रपूर्ण रूपमा रचिएको घटना भएको शौभाग्य र उनका बाबुको ठोकुवा छ । आगलागी भएसम्म र पछि पनि पेट्रोलको गन्ध आइरहेको थियो, शौभाग्यका बुबा भन्छन् ।


यदि साँच्चै यो घटना सुनियोजित थियो भने यस विषयमा छानविन हुन आवश्यक छ । इलाका प्रहरी कार्यालय चन्द्रकोट अनुसन्धानमा लागेको पनि एक साता बढी भइक्यो । तर, अहिलेसम्म पत्तो लागेको छैन । यदि कसैले नियोजित ढंगले यो कुकर्म गरेको हो भने उसले बुझ्न जरुरी छ कि ‘अरुलाई पीडा दिएर केही समय त खुशी मिल्ल । तर, आँखा देखि झरेको आँशुको सराप जिन्दगीभर लाग्ने छ ।’

प्रतिक्रिया दिनुहोस्