Logo
Logo

रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी : मन्त्री विष्ट


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रेमिट्यान्सबाट भित्रिने रकम उत्पादनशील क्षेत्रमा लगानी गरिने जनाएका छन् ।
औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) भित्राई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेस गर्न गठित कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री विष्टले रेमिट्यान्सको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरिने बताएका हुन् ।
आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमूलक एवं रोजगार सिर्जना गर्नका लागि रेमिट्यान्स औपचारिक च्यानलबाट ल्याउनुको विकल्प नभएको भन्दै उनले भने, ‘अब विभिन्न मुलुकमा पुगेका कामदारले पठाएको रेमिट्यान्स रकमको उचित सदुपयोग हुन्छ ।’ मन्त्री विष्टले प्रतिवेदनसहित थप अध्ययनका आधारमा सबै देशबाट आउने रेमिट्यान्स बैंकिङ च्यानलबाटै ल्याइने र सो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाइने बताए ।
उनले रेमिट्यान्स सही ढंगले सदुपयोग गर्न आवश्यक भएको भन्दै वैदेशिक रोजगारमा जाने युवालाई लगानीमा आकर्षित गर्ने सरकारको तयारी भएको बताए । प्रतिवेदन अध्ययन गरी उपयुक्त समयमा निर्णय हुने जानकारी गराउँदै मन्त्री विष्टले सधंै मागेर मात्रै देश नचल्ने भन्दै भने, ‘रेमिट्यान्सको सही सदुपयोगले वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ ।’
मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गत जेठमा गठित कार्यदलले रेमिट्यान्स रकमलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने सुझावसहितको प्रतिवदेन अहिले मन्त्री विष्टलाई बुझाएको हो । सचिव दाहालको संयोजकत्वमा गठित सो कार्यदलमा राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसनलगायतका प्रतिनिधि सम्मिलित थिए ।

प्रतिक्रिया दिनुहोस्