Logo
Logo

अमेरिकी इतिहासमा पहिलो अर्थमन्त्री महिला


- दृष्टि न्युज/संवाददाता


एजेन्सी, १३ माघ । अमेरिकाले पहिलो महिला अर्थमन्त्री पाएको छ । अमेरिकी सिनेटले पहिलो महिला अर्थमन्त्रीको रूपमा जेनेट येलेनलाई अनुमोदन गरेको हो । माथिल्लो सदन सिनेटमा भएको मतदानमा ज्यानेटको पक्षमा ८४ र विपक्षमा १५ मत खसेको थियो । योसँगै येलेन अमेरिकी इतिहासमा अर्थमन्त्री बन्ने पहिलो महिला हुन् ।

येलेनको अर्थमन्त्रीसम्मको यात्रा
सन् १९४६ मा अमेरिकाको न्यूयोर्कमा जन्मिएकी येलेनले युनिभर्सिटी अफ क्यालिफोर्निया वर्कको अर्थशास्त्रको प्राध्यापक भएर काम पनि गरिन् । त्यसअघि उनले हार्वड, लन्डन स्कुल अफ इकोनोमिक्समा पनि अध्यापन गरेकी थिइन् । त्यसपछि १९९४ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको गर्भनर सदस्य बनाएका थिए । तर, १९९७ मा उनले त्यहाँबाट राजीनामा दिइन् ।

उनको बाटो मोडिएन बरु १९९७ मै येलेनले क्लिन्टनको आर्थिक सल्लाहकार समितिको अध्यक्षता ग्रहण गरिन् । तर, १९९९ मा पुनः त्यसबाट राजीनामा दिइन् । त्यसपछि २००४ मा येलेनलाई स्यान्फ्रान्सिस्कोको फेडरल रिजर्व बैंकको अध्यक्ष बन्ने अवसर मिल्यो । २००९ मा येलेनलाई राष्ट्रपति बराक ओबामाले पुनः मनोनयन गर्नु अघि फेडरल रिजर्भ प्रणालीको अध्यक्षका रूपमा बेन बर्नान्केको सम्भावित उत्तराधिकारीको रूपमा उल्लेख गरिएको थियो ।

२०१४ मा फेरि राष्ट्रपति ओबामाले येलेनलाई अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षको कार्यभार दिए । तर, सन् १९७० को दशकदेखि कायम भएको परम्पराविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनलाई दोस्रो कार्यकालका लागि दोहोर्याएनन् । बरू ट्रम्पले चुनावी अभियानका क्रममा बेरोजगारी घटाउन, उत्पादन बढाउन, महंगी घटाउन नसकेको आरोप यलनलाई लगाएका थिए ।

येलेनेका अबको चुनौती
२ सय ३१ वर्षमा अमेरिकाले पहिलो पटक अर्थमन्त्रीका रुपमा महिला पाएको छ । तर, यो सुखद कुरासँगै येलेनका सामु अनेक चुनौती छन् । जेनेट येलेनलाई कोभिड महामारीले थिलथिलो भएको अर्थतन्त्र सम्हाल्ने ठूलो चुनौती ।

अमेरिकामा केही महिनाअघि बेरोजगारी दर दोस्रो विश्वयुद्ध यताकै उच्च विन्दुमा पुगेको थियो । हाल बेरोजगारी दर केही घटेको भए पनि आर्थिक वृद्धिदर सुस्त नै छ । अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न बाइडेनले १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेज अघि सारेका छन् । त्यसलाई कांग्रेसबाट अनुमोदन गराउनु नै येलेनको पहिलो चुनौती हो ।

बाइडेनको मन्त्रिपरिषद्मा २६ मध्ये १२ महिला
अमेरिकी इतिहासकमा पहिलो उपराष्ट्रपति महिलासँगै पहिलो महिला अर्थमन्त्री राष्ट्रपति बाइडेनको कार्यकालमा नै बनेका हुन् । उनको मन्त्रिपरिषद्मा ह्यारिससहित ६ जना अश्वेत, एक आदिवासी, ४ ल्याटिनो, २ एसियन र १२ जना श्वेत अमेरिकी छन् ।

सेक्रेटरी अफ इन्टेनियरमा डेब हल्याण्ड, सेक्रेटरी अफ कमर्समा जीना राइमान्डो, सहरी विकासमन्त्रीमा मार्सिया फजलाई जिम्मेवारी दिइएको छ । यि बाहेक उर्जा मन्त्रीमा जेनिफर ग्रान्लमलाई छानिएको छ ।

यस्तै, राष्ट्रसंघको लागि अमेरिकी राजदूतमा लिन्डा थोमस ग्रिनफिल्डलाई जिम्मेवारी दिइएको छ । एसियाबाट नीरा टन्डन र क्याथरिन टाइ मन्त्रीमा नियुक्त भएका छन् । जिम्मेवारी पाएका सबै अब्बल पात्र मानिएका छन् । तर, अबको कार्यकाल कस्तो होला ? त्यो समयले नै बताउला ।

प्रतिक्रिया दिनुहोस्