Logo
Logo

नवलपुरको गैंडाकोटमा आधारभूत स्वास्थ्य इकाईको उद्घाटनसँगै सेवा सुरु


- दृष्टि संवाददाता


नवलपुर, २२ माघ । नवलपुरको गैंडाकोट नगरपालिकाको वडा नं. ७ मा निर्माण भएको आधारभूत स्वास्थ्य इकाई भवनको उद्घाटन भएको छ । संघीय सरकारको ३८ लाख लागतमा बनेको स्वास्थ्य ईकाई भवनको उद्घाटन पश्चात बिहीबारदेखि नै सेवा समेत शुभारम्भ भएको हो ।

नगरको वडा नं. ७ गैरीमा रहेको स्वास्थ्य इकाई केन्द्रको बिहिबार एक समारोहका बीच नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले जनताको सरकार घरदैलो मै हुनुपर्छ भन्ने मान्यता अनुसार वडा मै स्वास्थ्य उपचार केन्द्रको स्थापना गरिएको र कर्मचारी व्यवस्थापन सहित स्वास्थ्य इकाई स्थापना गर्नेमा गैंडाकोट नगरपालिका नेपालकै पहिलो नगरपालिका भएको दावी गरे ।

यस्तै, नगर उपप्रमुख बिष्णुकुमारी कँडेलले संघीयताको मर्म नै जनताको घरदैलोमा पुगेर सेवा दिने भएकाले त्यहि मर्म अनुसार वडामा स्थापना भएको स्वास्थ्य इकाईबाट उपलब्ध हुने सेवा र सुविधा लिन वडा वासीहरुलाई आव्हान गरे ।

वडामा स्थापना भएको स्वास्थ्य ईकाई केन्द्रका बारेमा जानकारी दिँदै गैंडाकोट नगरपालिका स्वास्थ्य चौकीका इन्चार्ज इन्द्रराज सापकोटाले बिहीबारदेखि सरकारको स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने ६० प्रकारका औषधिसहित प्राथमिक उपचार निःशुल्क उपलब्ध हुने बताए ।

स्वास्थ्य इकाई केन्द्रमा एकजना हेल्थ असिस्टेन्ट र एकजना अनमी सहित दुईजना कर्मचारी रहने छन् ।

प्रतिक्रिया दिनुहोस्