
काठमाडौं, २५ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियूले आइतबार सिंहदरबार घेराउ गरेका छन् । पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने तयारी गरेका उनीहरुले प्रधानमन्त्रीले समय नदिएपछि सिंहदरबारनजिक हनुमानथानमा विरोध प्रर्दशन गर्दै सिंहदरबार घेराउ गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम चलाउ सरकारको संज्ञा दिँदै विज्ञप्ति प्रदर्शनसहित अनेरास्ववियूले तत्काल सरकारी पदबाट हट्न भन्दै सिंहदरबार घेराउ गरेका थिए । घेराउ कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सह–संयोजक रञ्जित तामाङले । केपी ओली काम चलाउ प्रधानमन्त्री भएकाले उनी आसेपासे र हनुमानहरुले घेरिएको अरोप लगाए ।

ओली अहिले भ्रष्चाटारीबाट घेरिएको भन्दै विरोध पत्र बुझाउन लागे पनि प्रधानमन्त्रीले आफुहरुसँग भेट्ने आँट नगरेको उनले बताए । उनले जनताको कर खाएर पार्टीको कार्यक्रममा देश दौडाहा गर्ने मन्त्री तथा सरकारी नेताहरुलाई कारबाही गर्ने चेतावनी दिए ।
अखिलले ओली प्रधानमन्त्री बनाउने पार्टी, मतदान गर्ने जनता र प्रधानमन्त्री निर्वाचित गर्ने सार्वभौम संसदलाई छलेर प्रतिगमनतिर लागेको तर्क गरेको छ । सो संगठनले संविधानको सर्वोच्चता र लोकतन्त्रको चिरहरण गर्ने काम भएको भन्दै निरंकुश, अलोकतान्त्रिक, असंवैधानिक, पश्चगामी र सर्वसत्तावादी कदमवाट पछि हट्न सुझाव दिएको छ ।















