काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले अवरोध गरेपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत ओली पक्षका हुन् । उनी पक्षकै सांसदले प्रदेश सभा बैठक अवरोध गरेका थिए ।
आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएपनि ढिलोगरी करिब ४ बजेतिर बैठक सुरु भएको थियो । बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षका १६ सांसदलाई निकाल्न भनेर बैठक अवरुद्ध गरेका हुन् ।
ओली समूहका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । वैठक अवरुद्ध गरेपछि अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।
सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेलगत्तै ओली पक्षका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्ध लागेका १६ सांसदलाई सभाबाट ननिकालेसम्म बैठक चल्न नसक्ने चेतावनी दिए ।











