Logo
Logo

अब परिवर्तनका लागि आन्दोलन गर्नु पर्दैन : सुवास नेम्वाङ


दृष्टि संवाददाता

2.3k
Shares

विराटनगर, ८ फागुन । नेकपा ओली पक्षका नेता सुवास नेम्बाङले अहिले चुनाव हुँदैन भनेर कराउँदै हिँडेकाहरु नै भोलीका दिनमा चुनावमा आउने बताएका छन् ।

‘सञ्चारमाध्यमले पूर्वप्रधानमन्त्रीहरु भनेर लेखेका छन्, म चिन्दिनँ’ उनले भने, ‘उहाँहरु चुनाव हुँदैन भनेर कराउँदै हिँडेका छन् । सर्वोच्च अदालतको फैसला आएको भोलीपल्टदेखि चुनावमा लाग्छन् ।’

शनिबार विराटनगरमा जारी ओली समूहको जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले चुनाव घोषणा गर्नु महत्वपूर्ण भएको समेत बताए ।

‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउझैँ अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छझै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’

पूर्वसभामुख समेत रहेका नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए ।

उनले आफू कानुनको विद्यार्थी भएको बताउँदै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भन्ने कतै नलेखिएको समेत दावी गरे ।

उनले देश चुनावमा होमिसकेको बताउँदै अब देशमा कुनै पनि प्रकारको आन्दोलनको आवश्यकता नरहेको समेत बताए । उनले भने, ‘अब परिवर्तनका लागि आन्दोलन गर्नु पर्दैन । अब देशको विकासमा अगाडि बढौंँ ।’

प्रतिक्रिया दिनुहोस्