Logo
Logo

नेप्से प्रणालीमा गडबढी आएपनि शेयर बजारले लय समात्यो


दृष्टि संवाददाता


काठमाडाैं । शेयर बजारले सकारात्मक लय समातेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएसँगै शेयर बजारले सकरात्मक लय समातेको हो ।

बुधबार बजार खुलेसँगै २६ सय २० सम्म पुगेको नेप्से परिसुचक अन्तिममा झण्डै १३ अंकले बढेर २५ सय ९९ मा पुगेको हो । उतार चढावकाबीच जलविद्युत र अन्य समुहमा दोहोरो अंकको गिरावट आउदा अरु सबै समुह हरियो रहेका थिए ।

बुधबार टिएमएसमा समस्या आँउदा कारोबार रकममा सँकुचन देखिएको छ । दैनिक ८ अर्ब माथिको शेयर कारोबार हुँदै आएकोमा बुधबार कारोबार रकम ६ अर्बमा झरेको छ ।

नेप्सेको प्रणालीमा गडबढी
बुधबार नेप्सेको प्रणालीमा भने गडबढी देखिएको छ । प्रणालीमा समस्या आएपछि नेप्सेका सूचांकहरु बिग्रिए । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को भाउ सय प्रतिशत घटेको देखियो ।

नेप्सेले निफ्राको कारोबार रोक्यो । पछि फेरि समस्या समाधान भएको भन्दै कारोबार खुला गर्यो । यसबाट बुधबारको बजार केही अन्योलमा चलेको थियो ।

नेपाल धितोपत्र बोर्डले पनि बुधबारको कारोबार अवरुद्धको विषयमा जानकारी प्राप्त भएको प्रतिक्रिया दिएको छ । ‘कुन कारणले समस्या आयो हामीले अध्ययन गरिरहेका छौं’ बोर्डका प्रवक्ता निरज गिरीले भने , ‘हामीले पनि समाचार आएपछि थाहा पाएको हो । निफ्रामा ‘क्राउड’ बढेछ , मूल्य पनि एक्कासी घटेको रहेछ । नेपालमा सेयर बजार सानो छ थोरै लगानीकर्ता भएका कारणले प्रणालीमा समस्या आएको थिएन ।’

होटल र बीमामा लगानीकर्ताको आकर्षण
बुधबार होटल र बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन होटल उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ३१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा र जीवन बीमा उपसमूहको सूचक क्रमशः १ दशमलव ४२ प्रतिशत र १ दशमलव ०२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १ दशमलव ११ प्रतिशतले घटेको छ ।

शेयर किनबेच र कारोवार हुने कम्पनीहरू :
बुधबार सर्वाधिक रकमको सेयर किनबेच हुने कम्पनीमा नेपाल बैंक, निफ्रा, नेको इन्स्योरेन्स, एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंक रहे । सर्वाधिक कित्ता किनबेच भएका पाँचमध्ये तीनवटा धितोपत्र म्युचुअल फन्ड छन् ।

 

प्रतिक्रिया दिनुहोस्