Logo
Logo

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल


दृष्टि संवाददाता


काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको कम्पनीले प्रतिसेयर मूल्य ७५० रुपैयाँ तय गरेको छ । तर, योग्य संस्थागत लगानीकर्ताले भने मूल्य तोकिसकेका छैनन् । धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको योग्यता पाएका ७४ कम्पनीले यो कम्पनीको आईपीओ निष्कासनका लागि आसय मूल्य निर्धारण गर्नेछन् । त्यसपछि उनीहरुले तोकेको मूल्यमा १० प्रतिशत कम गरी सर्वसाधारणले पनि खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई आठ लाख कित्ता, कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणलाई २८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता आईपीओ जारी गर्ने लागेको हो ।

दैनिक तीन हजार टन क्लिंकर उत्पादन क्षमता रहेको कम्पनीले वार्षिक दुई करोड बोरा सिमेन्ट उत्पादन क्षमता रहेको जनाएको छ । कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनीले प्रतिसेयर ५२ रुपैयाँ प्रतिफल दिँदै आएको बताए । उनले आईपीओबाट आएको पैसामध्ये ५० प्रतिशत बैंकको ऋण तिर्न र ५० प्रतिशत अर्को उद्योग स्थापनाका लागि खर्च गर्ने बताए । कम्पनीले आगामी तीन वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने भएकाले बढी प्रतिफल दिन सकिने उनले बताए । कम्पनीसँग ९० वर्षलाई पुग्ने चुनढुंगा खानी रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्